PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

एकै दिन भारतमा ५००० संक्रमित थपिँदा बिहार र युपीमा ह्वात्तै बढे, फर्केका कामदारमा ज्यादा संक्रमण, नेपालीतिर उत्तिकै जोखिम



पहिलोपोस्ट

एकै दिन भारतमा ५००० संक्रमित थपिँदा बिहार र युपीमा ह्वात्तै बढे, फर्केका कामदारमा ज्यादा संक्रमण, नेपालीतिर उत्तिकै जोखिम
पटनामा बाहिरबाट आइपुगेका मजदूर।

नयाँ दिल्ली : एकै दिन संक्रमितको संख्या ५ हजार भन्दा माथि पुगेपछि भारतमा २४ घन्टामा कोभिड १९ संक्रमितको नयाँ रेकर्ड बनेको छ। तेस्रो अवधिको लकडाउन सकिँदा आइतवार ५ हजारभन्दा धेरैमा संक्रमण देखिएको हो।

भारतको महाराष्ट्रमा मात्र एकै दिन २ हजार ३ सय ४७ जना नयाँ संक्रमित थपिए, जुन अहिलेसम्मकै धेरै हो। आइतवारमात्रै भारतमा १ सय ५४ जनाको मृत्यु भयो, कोरोनाका कारण। एकै दिन कोरोनाका कारण मर्नेको पनि यो सबैभन्दा धेरै संख्या हो। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ३ हजार २३ पुगेको छ। यो संक्रमितको तुलनामा ३.२ प्रतिशत मृत्युदर हो।

मुम्बईमा ३८ जनासहित महाराष्ट्रमा मात्रै ६३ जनाले एकै दिन ज्यान गुमाएका छन्। ३४ जनाले गुजरातमा ज्यान गुमाएका छन् भने दिल्लीमा १९ जनाले।

आइतवारसम्म भारतमा ९५ हजार ६ सय ७८ जना कोरोनाबाट संक्रमित भेटिएका छन्। नेपालसँग जोडिएको उत्तर प्रदेशमा एकै दिन २ सय ८ जना संक्रमित भेटिएका छन्। उत्तर प्रदेशमा भेटिएका पछिल्ला संक्रमितमध्ये ७० प्रतिशत श्रमिक मजदूर छन् जो बाहिरबाट त्यहाँ पुगेका हुन्।

नेपालसँग जोडिएको बिहारमा पनि आइतवार एक जनाको मृत्यु भएको छ। कोरोनाका कारण त्यहाँ मर्नेको संख्या ८ पुगेको छ। बिहारमा १ सय ६ नयाँ संक्रमित थपिएका छन् जसमध्ये पटनामा मात्रै ५७ जना रहेका छन्। बाहिरबाट बिहार फर्केका ५६० जनामा संक्रमण देखिएको छ जबकि बिहारमा कूल देखिएका संक्रमित संख्या १ हजार २ सय ८४ छ। बाहिरबाट आएका संक्रमित मध्ये दिल्लीका मात्रै २४ प्रतिशत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell