PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कोरोनाका कारण बाँच्नका लागि जसरी जीवनशैली फेरियो, फुटबल म्याचमा त्यसैको झल्को : रित्तो रंगशाला, अभ्यासजस्तो खेल



मुकुन्द घिमिरे

कोरोनाका कारण बाँच्नका लागि जसरी जीवनशैली फेरियो, फुटबल म्याचमा त्यसैको झल्को : रित्तो रंगशाला, अभ्यासजस्तो खेल

मार्च ११ मा ग्लाडबाच र कोलोग्नीबीचको म्याच भएसँगै कोरोनाका कारण बुन्डेसलिगा रोकियो। त्यस सँगसँगै युरोपका शीर्ष लिगहरु रोकिए। अनि विश्वभरकै फुटबल ठप्प।

त्यसको २ महिनापछि शनिवार डर्टमन्ड र शाल्केबीचको खेलसँगै युरोपमा पुन सुरु हुने पहिलो लिग बन्यो बुन्डेसलिगा। शनिवारबाट लिग शुरु भएसँगै युरोपमा फुटबल फर्कियो। लकडाउनमा थुनिएर बेचैन भएका विश्वभरका मानिसहरुले फुटबल हेर्न पाए। कोभिडमाथि मानव जातिले जित्नेछ भन्ने बलियो मन बनाउने बाटोमा लैजाँदैछ यो प्रतियोगिताले। जर्मनीमा १ लाख ७६ हजार कोरोना संक्रमित छन्। ७ हजार ९ सय ६२ जनाको त ज्यान नै गइसकेको छ कोरोनाका कारण। युरोपका अन्य मुलुकको तुलनामा यहाँ मृत्यु दर भने केही कम छ। त्यसैले पनि मानिसलाई कोरोनाको कहरबाट मानिसक रुपमा बाहिर निकाल्न जरुरी छ, जर्मनीले त्यही गर्‍यो।

तर, २ महिना अघि रोकिएको लिग र शनिवारबाट शुरु भएको लिगमा धेरै अन्तर देखियो। हुन त कोभिड १९ सुरु भएयता मानिसकै जीवनशैली फेरिएको छ त फुटबल यसबाट कसरी अछुतो रहोस्? सामाजिक दुरी, मास्कको प्रयोग, क्वारेन्टेइन, सरसफाइ लगायतमा मानिसको दुई महिना अघि र अहिलेको संस्कारमा आकाश पातालको फरक छ।

खैर, त्यसै पनि कडा नियमका बीच जर्मन चान्सलर एन्जेला मर्केजले लिग सन्चालन गर्ने अनुमति दिइन्। लिग आयोजनाका लागि नियम कति कडा पारिएको थियो भन्ने त केही दिन अघि प्रशिक्षक हेरचिलमाथिको कारवाहीले पनि स्पस्ट पार्छ। बाहिर दन्तमन्जन किन्न गएकै आधारमा लिग आयोजकले अग्सबर्गका प्रशिक्षक हेरचिललाई क्वारेन्टाइनको नियम उल्लंङघन गरेको भन्दै निलम्बित गरेको थियो।

'गोस्ट गेम्स'।

रंगशालामा विनादर्शक खेल गराएसँगै बुन्डेसलिगालाई यो नामले पनि सम्बोधन गरिरहेका छन्। लिगमा यसभन्दा अघि रंगशालामा यस्तो शान्त वातावरण कहिल्यै देखिँदैन थियो।

बुन्डेसलिगा सुरु भएको पहिलो खेलमा मात्र २ सय १३ जना ब्यक्तिहरु रंगशालामा थिए। जसमध्ये ९८ जना मैदान वरपर थिए। जसमा खेलाडी, रेफ्री, प्रशिक्षक, बल बोइ रहेका थिए। त्यस्तै सेक्युरिटी, मेडिकल टिम र मिडिया गरी १ सय १५ जना मैदानमा थिए।

यो रंगशालाको क्षमता ८० हजारभन्दा माथि रहेको छ।

खेल सुरु हुनु भन्दा अघि र हाफ टाइममा बल बोइहरुले बललाई डिसइन्फेक्ट गरेका दृष्य दर्शीनीय देखिन्थे।

त्यस्तै, खेल पछि मिडियाकर्मीसँगको कुराकानीमा पनि सामाजिक दुरी कायम राखेको देखिन्थ्यो।

फरक वातावरण

कोभिड १९ को समयमा सामाजिक दुरी कायम गर्नुपर्ने चर्चा चलिरहँदा बुन्डेसलिगाको पहिलो खेलमा पनि डर्टमन्डले शाल्केमाथि सामाजिक दुरी कायम राखेको भनेर कमेन्टेरहरुले रमाइलो गरिरहेका थिए। अर्थात् डर्टमन्डले ४-० को फराकिलो अन्तरले जित हात पार्‍यो।

तर, घरेलु मैदानमा लिगको दोस्रो स्थानमा रहेको टिमले दवाब कायम राखेर जित्दा जस्तो दृश्य देखिनुपर्ने हो, त्यो भने देखिएन। यो कुनै युरोपियन शीर्ष लिगको खेल हो र? भनेजस्तो लाग्थ्यो।

खाली स्टेडियममा खेल भयो। यतिसम्मकी त्यहाँ अडियन्स लाइनबाट आएका सामान्य आवाजहरु पनि लाइभमा सजिलै र सुनियो। रेफ्रीको सिट्टी र बाहिरको ताली स्पस्ट सुनिँदै थियो।

अझ खेलाडीहरुले गोल गरेपछिको सेलिब्रेसन थिएन त्यहाँ। गोल गरे। हात उठाउँदै केही परसम्म सामान्य दौडिए। धेरै भए कुहिनु ठोकाए। या फिस्स हाँसे। बस्, गोलको सेलिब्रेसन सकियो।

न हात मिलाए। न अँगालो मारे। न समर्थकतिर पुगेर खुशी साट्न नै पाए।

त्यस्तै खेलाडीहरु आपसमा हात मिलाइरहेका थिएनन्। न अंकमाल नै। आवश्यक पर्दा कोहीकोही खेलाडीले कुहिनो जुधाएको देखिए पनि उनीहरुले राम्रै सामाजिक दुरी कायम राखेका थिए।

बुन्डेसलिगा सुरु भएसँगै पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम लगाइएको थियो। यता खेलाडी परिवर्तनको दृश्य अझ अनौठो थियो। खेलाडी परिवर्तन भएर गएसँग त्यहाँका कर्मचारीले उनीहरुले मास्क दिन्थे। र, खेलाडीहरु मास्क र पानी लिएर आफ्नो स्थानतर्फ गइरहेका देखिन्थे।

बीबीसीले जनाएअनुसार खेलाडीहरु धेरैवटा बसमा गरेर आएका थिए। त्यस्तै चेन्जिङ रुम धेरै थिए। त्यस्तै मैदानमा पस्ने तरिका, वार्मअप लगायत अनौठो देखिन्थ्यो।

८० हजार क्षमताको रित्तो स्टेडियममा खेल भइरहेको थियो तर लाग्थ्यो अभ्यास गरिरहेका होलान्। खेल सकिएको अन्तिम सिट्टी बजेसँगै खेलाडीहरु हात मिलाउन अघि सरेनन्। बरु ठिङरिङ्ग उभिरहे।

दर्शकहरुलाई स्टेडियममा निषेध गरे पनि स्टेडियम बाहिर दर्शकहरु आफ्नो टिमलाई समर्थन गर्न आएका थिए।

+++

खेलमा देखिएको मास्कको प्रयोग सामाजिक दुरी लगायतका विषयलाई लिएर ‘महामारी पछिको फुटबलको भविष्य’ शीर्षकमा टोम मस्टोन खाली रंगशालामै भए पनि खेल शुरु गरेर अरु लिग शुरु गर्नका लागि बाटो देखाएको उल्लेख गरेका छन्।

फुटबल फर्किएको छ।

कहिलेसम्मलाई भन्ने टुंगो छैन। तर, यसले कोरोनापछिको दर्शक र ‘फुटबल वातावरण’ बिनाको फुटबल खेल कस्तो हुनेछ भनेर एक झल्को भने दिएको छ।

जसरी यसअघि फुटबल खेलिन्थ्यो त्यो भन्दा यो फुटबल एकदमै फरक छ।

‘यु विल नेभर वाक अलोन’ भन्ने गीत डर्टमन्ड र शाल्केको खेलअघि बजाइएको थियो। पहेलो र रित्ता प्यारापिटहरु देखिन्थे। सब्टिट्युटहरुलाई दुई मिटरको सामाजिक दुरीमा राखिएको थियो। र उनीहरुलाई मास्क अनिवार्य गरिएको थियो। ६६ दिन पछि जर्मनीमा खेल हुँदै थियो। तर, स्टेडियमको वातावरणले भन्दैन थियो कि यो खेल कति महत्वपूर्ण छ।

बुन्डेसलिगा सुरु हुनुले खेलकुदमा आउने ‘नव सामान्य’ अवस्थालाई देखाएको छ। जसरी विश्वभर ‘सर्भाइभल’ का लागि मानिसहरुले आफ्नो जीवनशैली फेरेका छन् त्यसरी नै फुटबलले पनि आफ्नो जीवनशैली फेरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell