दिवेश पोख्रेल 'अमेरिकन आइडल २०२०'को फस्ट रनर अप भएका छन्। आइतबार उक्त गायन रियालिटी शोको फिनाले डिजिटल प्ल्याटफर्ममार्फत् आयोजना भयो। यस वर्षको शीर्ष उपाधी भने २० वर्षीया सामन्था डियाज 'जस्ट साम'ले जितेकी छिन्।
स्टेजमा अर्थर गन नामले चिनिने दिवेशले अमेरिकन रक ब्यान्ड क्रिडेन्स क्लियरवाटर रिभाइभलको 'ह्याब यु एभर सिन द रेन' गाएका थिए। प्रस्तुति पछि निर्णायक रहेका लियोनेल रिचीले दिवेश यीनै प्रस्तुतिहरुका कारण 'स्टार' भइसकेको प्रतिक्रिया दिए। उनले भने,'तिमी प्रस्तुति, आवाज र शैली सबै हिसावमा उत्कृष्ट छौ। अगाडि नतिजा जस्तै आएपनि तिमी एक स्टार भइसक्यौ।'
गायिका केटी पेरीले पनि उनलाई अमेरिकन आइडलको दावेदार भएको बताइन्।
दिवेशको प्रस्तुति अघि बौद्ध लगायत नेपालको परिवेश झल्कने दृश्य देखाइएको थियो। त्यस्तै निर्णायक लुक ब्रायनले नेपाली दर्शक, स्रोतालाई सम्बोधन गर्दै अर्थर गनलाई प्रतिक्रिया जनाए। प्रशंसासहित भने,'काठमाडौंमा दिवेशजस्तै अरु पनि गायकहरु भए कृपया अर्को वर्ष अमेरिकन आइडलमा सहभागिता जनाउनुस्।'
कलंकीका दिवेश आफ्ना आमाबुबा र दिदीहरुसँगै क्यान्ससको उचितामा बस्छन्।
सन् २०१४ मा उच्च माध्यमिक तहको पढाई सकेर अमेरिका गएका उनका एल्बमहरु पनि सार्वजनिक छन्। 'ग्रहण' उनको पहिलो एल्बम हो। सन् २०१७ मा नेपाल आएर रेकर्ड गराएका थिए। उक्त एल्बममा ८ गीतहरु छन्। उनी कलंकीमा जन्मिएका हुन्।
सन् २०१९ मा पनि उनले 'कर्णाली', 'म', 'खोज' लगायत गीतहरु रेकर्ड गराएका छन्।