
विश्वभर कोरोना भाइरसबाट ४७ लाख १३ हजार ६ सय २० जना मानिस संक्रमित भएका छन्। विश्वभर यसैका कारण ३ लाख १५ हजार १ सय ८५ जनाको ज्यान समेत गुमिसकेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार सोमवार बिहानसम्म अमेरिकामा कोरोनाका संक्रमित १४ लाख ८६ हजार ५ सय १५ पुगेका छन्। अमेरिकामा ८९ हजार ५ सय ६२ जानाको मृत्यु भइसकेको छ।
संक्रमितको संख्याको आधारमा रसिया दोस्रो स्थानमा छ। तर, कोरोनाबाट मृत्यु हुनेको संख्याका आधारमा भने रसिया अरु मुलुकभन्दा निक्कै पछाडि छ। मृत्यु हुने संख्यामा बेलायत दोस्रो छ भने तेस्रोमा इटाली।
रसियामा संक्रमितको संख्या २ लाख ८१ हजार ७ सय ५२ रहेको छ। त्यहाँ अहिलेसम्म २ हजार ६ सय ३१ जनाको मृत्यु भएको छ। बेलायतमा मृत्यु हुनेको संख्या ३४ हजार ७ सय १६ छ। त्यहाँ संक्रमितको संख्या २ लाख ४४ हजार ९ सय ९५ रहेको छ।
संक्रमितको संख्यामा ब्राजिल ह्वात्तै माथि आएको छ। ब्राजिलमा संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको छ। त्यहाँ १६ हजार १ सय १८ जनाले ज्यान गुमाइसकेका छन्।
स्पेनमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय ६३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३० हजार ६ सय ९८। त्यसैगरी अर्को युरोपेली मुलुक इटालीमा २ लाख २५ हजार ४ सय ३५ संक्रमित हुँदा मृत्यु हुनेको संख्या ३१ हजार ९ सय ८ पुगेको छ। फ्रान्समा १ लाख ७८ हजार ६ सय ९३ जना संक्रमित छन् त्यहाँ २८ हजार १ सय ११ जनाको यसैका कारण मृत्यु भएको छ। जर्मनीमा १ लाख ७६ हजार ३ सय ६९ जना संक्रमित छन् तीमध्ये ७ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन्।
टर्कीमा १ लाख ४९ हजार ४ सय ३५ जना संक्रमित देखिएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ४ हजार १ सय ४० पुगेको छ। इरानमा १ लाख २० हजार १ सय ९८ जनामा संक्रमण देखिएको छ। त्यहाँ ६ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ।
यता दक्षिण एसियामा सबैभन्दा धेरै संक्रमण देखिएको भारतमा ३ हजार २५ जनाको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म ९५ हजार ६ सय ९८ जना संक्रमित देखिएका छन्।