PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विराटनगरमा लकडकाउन कडा, संक्रमण देखिएपछि वडा नम्बर ६ र १५ सिल



अनन्तराज न्यौपाने

विराटनगरमा लकडकाउन कडा, संक्रमण देखिएपछि वडा नम्बर ६ र १५ सिल

विराटनगर : विराटनगरमा २ जनालाई कोरोना सङ्क्रमण पाइएपछि महानगरको सुरक्षा व्यवस्था र लकडाउन अझ कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा महानगरमा लकडाउन कडा पारिएको हो।

महानगरमा दूध, पानी र औषधिका पसलमात्र खुल्न दिइएका छन्। नयाँ टाइम कार्डअनुसार विहान ६ देखि १० बजेसम्म खुल्दै आएका भाटभटेनी, आरके सिटी सेन्टर र सेन्ट्रल मल सोमबार बिहान खुलेनन्। त्यस्तै अन्य किराना पसल र तरकारी पसललाई प्रहरीले बिहानैदेखि बन्द गरेको थियो।

प्रहरीले बिना पासका सवारीसाधन नियन्त्रणमा लिन थालेको छ। बिहान ९ बजेसम्ममा ५० वटा भन्दा बढी मोटरसाइकल र १० वटाभन्दा बढी ठूला सवारी साधन नियन्त्रणमा लिइसकेको छ।

कोरोना सङ्क्रमण देखिएसँगै विराटनगर महानगरका वडा नम्बर ६ र १५ लाई सिल गरिएको महानगर प्रमुख भीम पराजुलीले बताए। वडा नम्बर ६ की २९ वर्षीय महिला र १५ का ३६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण फेला परेको हो।

महानगरले यसअघि ४३ जनाको स्वाब परीक्षण गर्न धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। जसमध्ये २ जनामा कोरोना पोजिटिभ देखिएको छ।

दुबै बिरामीलाई कोशी अस्पताल लगिएको छ। यससँगै प्रदेश नम्बर १ मा कोभिड–१९ का बिरामीको सङ्ख्या ३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell