PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

आतंकवादीको आक्रमणले टुहुरो बने शिशुहरु, 'अर्की आमा' बनेर अस्पताल पुगिन् फिरुजा



पहिलोपोस्ट

आतंकवादीको आक्रमणले टुहुरो बने शिशुहरु, 'अर्की आमा' बनेर अस्पताल पुगिन् फिरुजा
Photo : Omar Sobhani/Reuters

गत साता अफगानिस्तानको राजधानी काबुलमा दर्दनाक घटना घट्यो। दास्त ए बार्चीस्थित एक प्रसुती गृहमा आतंकवादीले आक्रमण गरे। सुत्केरी महिला, नवजात शिशु र स्वास्थ्यकर्मीसहित २४ जनाको घटनास्थलमै मृत्यु भयो।

कोरोना भाइरस संक्रमणले फैलाएको त्रास एकाएक मोडियो। त्यहाँका सञ्चार माध्यमहरुले नयाँ 'ब्रेकिङ न्यूज' र 'हेडलाइन' बजाउन थाले।

खबर हेर्दै गर्दा आतंकित भइन् फिरुजा ओमर। त्यस समय उनी घरमै थिइन्। काखमा उनको ४ महिने छोरा थियो, स्तनपान गरिरहेको।

'अस्पतालका ती शिशुहरुको छट्पटाहट मैले महसुस गरें,' उनले बीबीसीसँग भनेकी छिन्। २७ वर्षीया फिरुजा मनोविद् हुन्।

टिभीमा देखेको दृश्यले उनलाई दुखायो। आमा गुमाएका र घाइते भएका शिशुहरुको ठाउँमा आफ्नो छोरालाई राखेर हेरिन्। सहन सकिनन्। त्यसैले उनले ती शिशुहरु स्याहार्ने निर्णय गरिन्। निर्णयमा साथ दिए उनका श्रीमानले पनि।

आक्रमण भएको अस्पतालबाट करिव सय जना सुत्केरी महिला र नवजात शिशुको उद्दार गरिएको छ। उनीहरुलाई अटाट्ट्रुक बाल अस्पताल पुर्‍याइएको छ। उक्त अस्पताल फिरुजाको घरबाट करिव २ किलोमिटर मात्र टाढा छ। त्यहीं पुगिन्। उनको छोराको उचित ख्याल राख्ने वचन दिए श्रीमानले। त्यसैले ढुक्क भएर निस्किएकी हुन्।

यात्रा चुनौतिपूर्ण थियो। किनकि कतिखेर कहाँबाट कसले कसलाई प्रहार गर्छ थाहा नै हुँदैन।

उनी अस्पताल पुग्दा त्यहाँ २० शिशु थिए। उनीहरुमध्ये केही घाइते भएका रहेछन्।

ती शिशुहरुलाई स्वास्थ्यकर्मीले पाउडर दूध खुवाउन कोशिश गर्दै थिए। तर, धेरैले पिउन मानिरहेका थिएनन्।

'मैले आफू अस्पताल आउनुको उद्देश्यबारे सुनाएँ। नर्सहरुले मलाई कहालिएर रोइरहेका बच्चाहरुलाई स्तनपान गराउन आग्रह गरे। मैले नाईं भन्ने सकिँन,' उनले सुनाइन्।

पहिलो रात उनले ४ शिशुलाई पालैपालो दूध खुवाइन्।

'मलाई निकै आनन्द आयो। उनीहरुलाई त्यसरी स्तनपान गराउन पाउँदा मेरो खुशीको सीमा रहेन,' उनले अनुभव साटिन्। त्यसपछि यसरी आमा गुमाएका शिशुहरुलाई स्तनपान गराउनु उनको दैनिकी बनेको छ। उनी हरेक दिन घरबाट अस्पतालसम्म पुग्छिन्। आमा गुमाएका वा दुध खुवाउन नसक्ने गरी घाइते भएका आमाका सन्तानको 'अर्की आमा' बनेकी छिन्।

अवस्था सामान्य बन्न समय लाग्छ। यस्तोमा उनी एक्लैले निरन्तर स्तनपान गराउँदा सबै शिशुका लागि अपुग हुनसक्छ। त्यसैले उनले आफ्नो अनुभव सामाजिक सञ्जालमा साट्दै अन्य आमाहरुलाई पनि यस स्वयम् सेवामा लाग्न आग्रह गरेकी थिइन्।

'त्यसपछि त धेरै महिला दिदी बहिनीहरु यस अभियानमा जोडिनु भयो,' उनले भनिन्।

उनले ती शिशुहरुका लागि 'न्याप्किन' र दूध किन्नका लागि रकम संकलन समेत गरेकी छिन्।

पछिल्लो ४ दशकयता अफगानिस्तान अशान्त छ। थुप्रै आक्रमण, हमला, हत्या भएका छन्। तर, यसरी प्रसुती गृहमा नवजात शिशुसहित सुत्केरी आमाहरु मारिनुले विश्वलाई नै आक्रान्त पार्‍यो।

हाल केही शिशुहरु डिस्चार्ज भइसके। तर कहाँ कस्तो आक्रमण हुने हो? भन्ने त्रासमा छन् त्यहाँका मानिस।

'आफ्नो आमाको अंगालोमा हुनुपर्ने शिशुहरु अस्पतालमा छन्। अन्जान महिलाको दुध पिइरहेका छन्,' फिरुजा चिन्ता व्यक्त गर्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell