
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद शशांक कोइरालाले नीति तथा कार्यक्रममा निबन्धात्मक शैलीमा सरकारको गुणगान मात्र गरेको भन्दै यसले नागरिकको दु:खमा संवेदनशील हुन नसकेको आरोप लगाएका छन्।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै कोइरालाले नीति तथा कार्यक्रमले कोभिड-१९ ले पारेको प्रभाव छुट्टयाउन नसकेको पनि बताएका छन्।
त्यस्तै उनले कालापानी,लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि अतिक्रमणको विषयलाई उच्च स्तरमा सार्थक र परिणाममुखी वार्ता गरेर समाधान गर्न सुझाएका छन्।
विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य परिक्षण गरी क्वारेन्टाइनमा राखेर सम्मानपूर्वक घर फर्काउनुपर्ने उनको भनाइ छ। कोरोना महामारीसँग जुध्नका लागि सरकारले हालसम्म गरेको तयारी र काम अपेक्षाकृत रुपमा परिणाममुखी हुन नसकेको उनको आरोप छ।
उनले हालसम्म पनि स्वास्थ्यकर्मीको लागि पर्याप्त सुरक्षा उपकरणको उपलब्ध नहुनु, परीक्षण किटको अभाव हुनुले कोरोनाका विषयमा सरकार असंवेदनशील भएको स्पष्ट भएको बताएका छन्। उनले कोरोना परीक्षणको दायरा बढाउन पनि आग्रह गरेका छन्।