PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

विराटनगरका दुई कोरोना संक्रमितमध्ये एक भारतबाट लुकेर नेपाल छिरेकी महिला, अर्का पुरुष सफाइ कर्मचारी



फूलमाया पुरी

विराटनगरका दुई कोरोना संक्रमितमध्ये एक भारतबाट लुकेर नेपाल छिरेकी महिला, अर्का पुरुष सफाइ कर्मचारी

काठमाडौं : आइतवार विराटनगर महानगरपालिका वडा नम्बर ६ र १५ एक महिला र एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमित २९ वर्षीया महिला भारतबाट नेपाल आएकी हुन्, लुकेर। त्यस्तै ३६ वर्षीय पुरुष भने त्यहीँका स्थानीय हुन् जो सर सफाइ कर्मचारी हुन्।

महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार ती पुरुष नगरपालिकाको फोहोर उठाउने साझेदार संस्थामार्फत् काम गर्छन्। विराटनगर दक्षिणी भेगमा जोगवनी बोर्डर उनको कार्य क्षेत्र हो।

त्यस्तै संक्रमितहरुलाई कोरोना विशेष अस्पताल लगिएसँगै कन्ट्र्याक ट्रेसिङ सुरु गरिएको पराजुलीले बताए। 'बोर्डर छेउमा बस्ने र लुकिछिपी भारतको जोगवनीबाट सामान ओसारपसार गर्ने हुँदा जोखिम बढेको छ', उनले भने, 'खुला सीमाका कारण को कतिखेर कहाँबाट नेपाल छिर्छन् थाहा हुँदैन। त्यसैले हामीले अब त्यस क्षेत्रका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने योजना बनाएका छौं।'

विराटनगर, दक्षिण भेगका सर सफाइ विभागमा काम गर्ने सम्पूर्ण कर्मचारीको परीक्षण गरिने नगर प्रमुख पराजुलीले बताए।

शुक्रवार महानगरपालिकाले ४३ जनाको स्वाब संकलन गरेको थियो। जसमा सफाइ कर्मचारी र भारतबाट आएका व्यक्तिहरु थिए। संकलन गरिएका स्वाब धरानस्थिति वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। जसमध्ये दुइ जनामा संक्रमण देखिएको आइतवार पुष्टी भयो। बाँकी सबैको रिपोर्ट नेगेटीभ आयो।

वडा नम्बर ६ का अध्यक्ष विजय कामतका अनुसार संक्रमित महिला गत सातामात्र विराटनगर आइपुगेकी हुन्। उनी एक महिनाअघि भारतको सुपौल जिल्लास्थित आफ्नो माइती गएकी थिइन्। त्यहाँ उनी आफन्तको विवाहमा सहभागी हुन गएकी हुन्।  'उनका सम्पर्कमा आएका सबैको कन्ट्र्याक्ट ट्रेसिङ र परीक्षणको तयारी थालिएको छ। परिवारका सदस्यको विवरणसहित हामीले नगरपालिकामा जानकारी गराइसकेका छौं', वडा अध्यक्ष कामतले भने, 'त्यसकै लागि आज वडालाई सील गरिएको छ।'

ती महिलासँगै अन्य ४ जना पनि नेपाल आएको जिल्ला प्रहरी कार्यालयका मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिए। 'गाउँलेले छिमेकमा नयाँ मान्छे आएको भनेर खबर गरेकाले खोजी गरियो र हामीले परीक्षणका लागि पठायौं', उनले भने।

प्रमुख अधिकारीका अनुसार आजै ती संक्रमित महिलाका परिवार र उनको सम्पर्कमा आएका सबैको स्वाव संकलन गरिने भएको छ। संक्रमित दुवैलाई आइतवार राति नै कोशी अस्पताल विराटनगर लगिएको छ। उनीहरु दुवैको अवस्था सामान्य रहेको छ।

भारतबाट लुकिछिपी नेपाल आउने क्रम जारी छ। त्यसरी आएकालाई सकेसम्म खोजी गरी क्वारेन्टाइनमा राखिएको छ। हाल मोरङमा सुन्दरहरैंचास्थितको पूर्वाञ्चल विश्वविद्यालय, रंगेली सिजुवा लगायतका १९ स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ।  जहाँ करिब ६ सय जनालाई क्वारेन्टाइनमा राख्न सकिने अधिकारीले जानकारी दिए।

आरडिटी परीक्षणमा देखिएको थिएन कोरोना संक्रमण

महानगरपालिकाले यसअघि नै आफ्ना १९ वटै वडामा संकास्पद व्यक्ति र त्यस क्षेत्रका मानिसहरुमा आरडिटी परिक्षण गरेको थियो। त्यसबेला गरिएको कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको महानगरपालिका प्रमुख पराजुलीले बताए।

उनका अनुसार महानगरपालिकाले पुन: परीक्षण गर्न सुरु गरेको हो। यसपटक पीसीआर विधिबाट परीक्षण गरिँदै छ। लकडाउनका कारण भारतबाट लुकिछिपी आउने क्रम नरोकिएको र बोर्डरमा बढी जोखिम भएकाले पुन परीक्षण गर्न थालिएको हो। जसका लागि टोलटोलमा पाँचदेखि सात जनाको समूह बनाइएको र हालसम्म ३६७ वटा समूह बनिसकेको उनले बताए।

भारतबाट लुकेर आएकाहरु स्थानीय तहको सम्बन्धित निकायमा सम्पर्कमा नआएकाले टोल समूहको आवश्यकता परेको पराजुलीले बताए। 'लुकेर आएकाले म यसरी आएँ भन्दैन, यस्ता केही व्यक्तिहरु भेटीएपछि हामीले  यो विधि अपनाएका हौं', उनले भने।

नगरपालिकाले दक्षिण भेगबाटै परीक्षण सुरु गरेको भएको छ।  हालसम्म १ सय २६ जनाको स्वाब संकलन गरिसकेको उनले जानकारी दिए। 'हामी नियमित गरिरहेको परीक्षण कार्यलाई निरन्तरता दिनेछौं', पराजुलीले भने।

बोर्डरमा भारतको क्वारेन्टाइनमा बसेका नेपाललीलाई समन्वय गरी ल्याउने प्रयास समेत भइरहेको उनले बताए। यसका लागि होल्डीङ एरीया बनाउने र त्यहाँ राखी स्वाब संकलन र कोरोना भाइरसको परीक्षण गर्नका लागि आवश्यक तयारी भइरहेको उनले जानकारी दिए। मोरुङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको प्राङ्गण र विराटनगरकै डीएभी स्कूलमा होल्डीङ एरीया बनाउन लागिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell