PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विश्व स्वास्थ्य संगठनको वार्षिक बैठक : चीनविरुद्ध प्रश्न उठ्न सक्ने सम्भावना



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनको वार्षिक बैठक : चीनविरुद्ध प्रश्न उठ्न सक्ने सम्भावना

सोमवार विश्व स्वास्थ्य संगठन निर्णायक तहका निकाय एवं संस्थाहरुसहित बैठक बस्दैछ। यस भर्चुअल बैठकमा १ सय ९४ सदस्य राष्ट्रको सहभागिता रहनेछ। जसमा अमेरिका लगायत अन्य देशले कोरोना भाइरसले निम्त्याएको महामारीका लागि चीनलाई आरोप लगाउन सक्ने बताइएको छ।

न्यूयोर्क टाइम्सले जनाए अनुसार अमेरिका लगायत अन्य देशहरुले चीनले कोरोना भाइरसका बारेमा जारी गरेको तथ्याङ्क एवं सूचनाहरुविरुद्ध स्वतन्त्र अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठनसँग माग राख्नेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्य देशका प्रमुखहरुले चिनियाँ निकायले कोरोना भाइरस सम्बन्धी सही सूचना लुकाएर यसलाई महामारीका रुपमा फैलन प्रोत्साहित गरेको बताउँदै आएका छन्।

ट्रम्पले चीनलाई आरोप लगाइ रहँदा उनकै नेतृत्वमाथि पनि प्रश्न भने नउठेका होइनन्। अमेरिका हाल कोरोना भाइरसका कारण सर्वाधिक प्रभावित देश हो। जहाँ १४ लाख मानिस संक्रमित छन् र ९० हजार मानिस संक्रमणकै कारण मरिसकेका छन्।

विश्वभर ३ लाख १२ हजार मानिसले संक्रमणका कारण ज्यान गुमाएका छन्।

सोमवारको बैठक विश्व स्वास्थ्य संगठनको वार्षिक सम्मेलन हो। यस सम्मेलनमा संगठनका महत्वपूर्ण निर्देशिकाहरु बन्ने, संगठनको नेतृत्वकर्ता छान्ने र बजेट सम्बन्धी योजनाहरु बनाइन्छ। यस वर्षको बैठक भने कोभिड-१९ केन्द्रित हुनेछ। हरेक वर्ष मेमा जेनेभामा हुने सम्मेलन यो पटक अनलाइनै हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell