काठमाडौं : सांसद रेणु कुमारी यादवले सरकारको नीति तथा कार्यक्रम पुरानै ढर्राको भएको टिप्पणी गरेकी छिन्।
प्रतिनिधिसभाको सोमवारको बैठकमा उनले मानिसहरु ४०/४५ मिनेट भाषण सुन्न नसक्ने अवस्थामा रहेको बताउँदै सांसद यादवले कोरोना कहरका बेला नीति कार्यक्रममा ३ घण्टा समय वर्वाद गरिएको बताइन्।
यादवले नीति तथा कार्यक्रममा सत्तापक्षको हिजोको भाषणले आफू आश्चर्यचकित भएको बताइन्। उनले सुवासचन्द्र नेम्वाङप्रति कटाक्ष गर्दै आफ्नो कलाइन्टको कुरा सावित गर्न सक्ने कला वकिलमा हुन्छ भन्ने प्रमाणित भएको बताइन्।
उनले भनिन्, 'आश्चर्यको कुरा कोरानाले मृत्यु भएकी महिलाको लाश उठाउने हिम्मत समेत सरकारमा थिएन्। उनको लाश सामाजिक सञ्जालले उठाएर पशुपति घाट पुर्यायो। यहाँ बसेर कोरोनाको विषयमा ठूला ठूला कुरा गर्ने, हाम्रो सारा तयारी छ भनेर?'
उनले मधेसमा क्वारेन्टाइनको उचित व्यवस्था नभएको बताइन्। उनले जनता त्रास बढेको भन्दै सरकारको तयारी के छ चन्दै प्रश्न गरिन्। भनिन्, 'जनता त्रसित् छन्। विरामी नभएको मान्छेलाई पनि ज्वरो आउन थालेको छ। यस्तोमा सरकारले के तयारी गरेको छ?'
यादवले मृत्युपछि मात्रै कोरोनाको पुष्टि हुनुले नेपाल नमूना देश बनेको कटाक्ष गरिन्। त्यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्यको विषय पुरानै ढर्राबाट समावेश गरिएको टिप्पणी गरिन्। बाँकेबाट मृत्यु भएको युवाले सिटामोल समेत नपाएको अवस्थामा हामीले धेरै गर्यै भन्नुको अर्थ नरहेको बताइन्।
उनले नीत तथा कार्यक्रमप्रति कटाक्ष गर्दै भनिन्, '६३ पेजको दस्तावेज हिजो तकियामा राखेर सुतेँ। कतै समृद्ध नेपाल सुखी नेपालीको कुरा यही दस्तावेजमा त छैन। तर, सपनामा रातभर दुखी नेपाल र दरिद्र नेपाली मात्र देखेँ। यो पुरानै ढर्राको दस्ताबेज हो।'
अहिलेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिनुपर्ने उनको भनाइ थियो।