
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना संक्रमण भएर मृत्यु भएकी सुत्केरी महिलाको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन्। शिशुको १२ कक्षासम्म पढाईको जिम्मा लिने उनले बताए। त्यसपछि रोजगारीको समेत ब्यवस्था गरिदिने बस्नेतको योजना छ। शिशुलाई पौष्टिक आहारका लागि उनले ५० हजार नगद सहयोग गरेका छन्।
मृतक महिलाका अर्का एक जना छोरालाई उनका श्रीमानले पालनपोषण गर्न नसके त्यसका लागि पनि आफू पहल गर्ने बस्नेतको भनाई छ। मृतकका परिवारलाई आफूले नजिकबाट चिनिको र उनीहरुको अर्थिक अवस्था कमजोर भएकाले आफूले सहयोग गरेको बस्नेतले बताए। 'उहाँहरुको र मेरो घर एउटै नगरभित्र हो। उहाँहरुको आर्थिक अवस्था कमजोर छ। त्यसैले मैलें सहयोग गर्न खोजेको हुँ,' उनले भने।
नेता बस्नेतले लकडाउन भएदेखि नै आफू अप्ठेरोमा परेकालाई सहयोग गर्न जुटेको बताए। अहिले मृतकका परिवारलाई आफूले सहयोग गर्दा अरुलाई पनि सहयोग गर्ने प्रेरणा मिल्ने उनको तर्क छ।
'उहाँ त अब नेपालमा कोरोना लागेर मर्ने पहिलो बन्नु भयो। अब अवस्था कस्तो हुन्छ थाहाँ छैन। मान्छेहरुको ज्यान नजाओस, कामना छ। तर यसरी नै क्षति भयो भने परिवारलाई अप्ठेरो पर्छ। मानसिक हिसावले पनि केही सजिलो होस भनेर मैले सहयोग गर्ने विचार गरे,’ उनले भने।
मृतकका परिवारलाई सहयोग गरेमा उनीहरुलाई परेको मानसिक पीडा पनि कम हुने नेता बस्नेतको भनाई छ।