PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

लिम्पियाधुरा, कालापानीलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने सरिता गिरीको अभिव्यक्तिको संसदमै प्रतिवाद



पहिलोपोस्ट

लिम्पियाधुरा, कालापानीलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने सरिता गिरीको अभिव्यक्तिको संसदमै प्रतिवाद

काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपाली नक्सामा राख्न छिमेकीसँग सोध्नुपर्ने समाजवादी पार्टीकी सांसद सरिता गिरीको अभिव्यक्तिको संघीय संसदमै प्रतिवाद भएको छ।

सत्ता तथा प्रतिपक्षी सांसदहरुले गिरीको अभिव्‍यक्तिमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आपत्ति जनाएका हुन्। सरकारले आफ्नो नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने विषय उल्लेख गरेको छ।

यो विषयमा आइतबार समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारत र चीनसँग संवाद नगरी नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठेको बताएकी थिइन्। उनले नक्सा जारी गर्नुभन्दा पहिला छिमेकीलाई सोध्नुपर्ने आशय व्यक्त गरेकी थिइन्। जसको सर्वत्र आलोचना भइरहेका बेला सांसदहरु पनि प्रतिवादमा उत्रिएका हुन्।

सांसद गोमा देवकोटाले नेपालको भूभागको नक्सा निकाल्नलाई छिमेकी मुलुकलाई सोध्नुपर्ने कुरा लाजमर्दो भएकों बताएकी छिन्। उनले आफ्नो देशको नक्सा निकाल्न कुनै छिमेकीलाई सोध्नुनपर्ने बताइन्।

'नेपालको भूभागको नक्सा निकाल्दा छिमेकीलाई सोध्नुपर्ने कति लाजमर्दो हो। विदेशी नीति, परराष्ट्र नीतिलाई सोध्नुपर्छ भन्ने लागेको छैन। आफ्नो देशको नक्सा निकाल्नलाई कुनै छिमेकीलाई सोध्नुपर्दैन्,’ उनले भनिन्।

त्यस्तै आजको संसदमा राप्रपाका सांसद राजेन्द्र लिङ्देनले पनि आफ्नो नक्सा निकाल्न छिमेकीलाई सोध्नु नपर्ने बताएका थिए।

नेकपाका सांसद महेश बस्नेतले पनि नेपालको नक्सा निकाल्न छिमेकीलाई सोध्नुपर्ने कुराको विरोध गर्दै सत्तामा हुँदा राष्ट्रघाती हुने सत्ताबाहिर हुँदा राष्ट्रवादी हुने भन्दै प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell