
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले आफूमाथि लाग्दै आएको अपहरणको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा श्रेष्ठले आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताए।
उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुरा आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो। सम्पूर्ण माननीयहरूलाई सांक्षी राखेर म भन्न चाहन्छु। अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु। यदि प्रमाणित भयो भने सबै माननीयहरूको अगाडि म झुन्डिएर मर्न तयार छु। के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन्?’
केहीअघि प्रधानमन्त्री केपी ओलीको निर्देशनमा समाजवादीका सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप श्रेष्ठमाथि लगाइएको थियो। समाजवादीले सांसद श्रेष्ठ, महेश बस्नेत र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यालय काठमाडौंमा जाहेरी पनि दिएको थियो।
प्रहरीले भने प्रमाण अभावमा तामेलीमा राख्ने राय सरकारी वकिल कार्यालयलाई दिएको थियो। सरकारी वकिल कार्यालयले प्रहरीको राय सदर गरिसकेको छ।