
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका बुँदाको बचाउ गरेका छन्।
नेकपाकै सांसद एवं स्थायी कमिटी सदस्य भीम रावलले आजको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा बोल्दै एमसीसी सम्झौताको विरोध गरेका थिए।
नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइन निर्माण गर्ने कुरा उल्लेख गरिएको र यो एमसीसी सम्झौताको अंश भएको भन्दै रावलले राष्ट्रहित विपरीतको सम्झौता पछाडिको ढोकाबाट आउन खोजेको अनुभूत भएको बताए।
उनले एमसीसी सम्झौता इण्डो प्यासिफिक अन्तर्गतको अंग भए राष्ट्रहितको विपरीत हुने बताए। 'स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कुनै पनि सम्झौता पैसामा साट्न सकिँदैन,’ उनले भनेका थिए।
रावलपछि नीति तथा कार्यक्रममाथिको छलफलमा बोलेका सांसद बस्नेतले एमसीसी सम्झौता घुमाएर ल्याइएको भन्ने हिसाबले बुझ्नु नहुने तर्क गरे।
रावललाई जवाफ दिँदै उनले भने, 'एमसीसीलाई घुमाएर ल्याइयो भन्ने कोणबाट कतिपय मान्यले प्रश्न गर्नुभयो। एमसीसीलाई घुमाएर ल्याएको भनेर बुझ्नुभन्दा पनि एमसीसीलाई कार्यान्वयन गर्दा पनि नगर्दा पनि जलविद्युत अबको महत्वूर्ण पार्ट भन्ने कुरा नीति तथा कार्यक्रममा आएको छ।' सांसद बस्नेतले नीति तथा कार्यक्रमको सार नबुझी टिप्पणी गरेको बताए।