काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सीमानामा अलपत्र परेका नागरिकलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताएका छन्।
बडूले संसदको संयुक्त बैठकमा जारी नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सीमा नाकाबाट आउन नपाएपछि नेपालीहरु लुकिछिपी आउँदा संक्रमण बढेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै बडूले सीमानामा अलपत्रको उद्धार नगरेको भन्दै आलोचना गरे। 'सीमा नाकाबाट आउन नपाएपछि लुकिछिपी आउँदा संक्रमण भएको हुनाले अलपत्र भएकालाई ब्यवस्थित तरिकाले राख्ने सरकारले कुनै पहल गरेको छैन। के आफ्नै पानीजहाज र आफ्नै रेलमा ल्याउने योजनाका कारण ढिला भएको हो?' उनले प्रश्न गरे।
सीमा नाकाबाट आएकाको पीसीआर परीक्षणका लागि सरकारले कुनै पहल नगरेको बडूको आरोप छ।
उनले सरकारको नीति तथा कार्यक्रम कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रीत नभएको टिप्पणी गरे।
बडुले दार्चुलाको ब्याँस गाउँमा लकडाउनले खाद्यान्नको चरम अभाव भएकाले तत्कालै राहत उपलब्ध गराउन माग गरे।
उनले विदेशबाट आएकालाई फेरि रोजगारीका लागि भौतारिनुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन्।
नेता बडूले कालापानी क्षेत्रको भ्रमण गरेका रक्षामन्त्री ईश्वर पोखरलको भ्रमण व्यक्तिगत वा निजी के हो भन्ने जानकारी संसदलाई दिनपर्ने तर्क गरे। उनले कालापानीको फेदस्थित कौवामा सशस्त्रको फौज राख्न पनि माग गरे।