PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

नीति तथा कार्यक्रममाथि गगन थापाको प्रश्नैप्रश्न, ‘बारीदेखि भकारीसम्म प्रभावित हुँदा लामो गन्थन् नलेखौं भनेर कसैले भनेन?’



पहिलोपोस्ट

नीति तथा कार्यक्रममाथि गगन थापाको प्रश्नैप्रश्न, ‘बारीदेखि भकारीसम्म प्रभावित हुँदा लामो गन्थन् नलेखौं भनेर कसैले भनेन?’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले नीति तथा कार्यक्रमले आफूलाई लञ्जित बनाएको बताएका छन्। उनले सोमवारको प्रतिनिधि सभामा बोल्दै नीति तथा कार्यक्रममाथि प्रश्नैप्रश्न समेत गरेका छन्। उनले नीति तथा कार्यक्रमले नेपाल दुर्घटनामा पर्ला जस्तो भान भएको पनि बताए।

नीति तथा कार्यक्रम प्रधानमन्त्रीले एक्लै लेखेको कविता र मन्त्री लुकेर लेखेको अध्यादेश जस्तो नभएको उनको भनाइ थियो।

‘नागरिकको खल्ती खाली हुँदै गर्दा घरको खुत्रुकेमात्र रित्तिने होइन, देशको ढुकुटी पनि रित्तिसक्यो। त्यसैले यस्तो बेला यो पनि गर्छौं, त्यो पनि गर्छौं भनेर कसैले भनेन? घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दै बारीदेखि भकारीसम्म प्रभावित भएको बेला लामो गन्थन् नलेखौं भनेर कसैले भनेन?’ उनले भने, ‘रोजगारी वृद्धि हुन्छ, नेपालको संमृद्धि भनेर लेख्दै गर्दा यी दुई महिनामा लाखौं बेरोजगारी भए भनेर कसैले भनेन? भोकले कोही मर्दैन भोकै कोही पर्दैन भन्ने नारा लेखिरहँदा भोकले मरिसके भनेर कसैले भनेन्?’

थापाले सरकारको यस्तै तयारी हो भने केही दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गनेर भ्याउन नसक्ने अवस्था आउने भन्दै आक्रोश पोखे।

‘सरकारको अभूतपूर्व कामले संक्रमण नियन्त्रण भयो भनेर लेखिरहँदा संक्रमण कम भएको छैन भनेर कसैले भनेन? कोभिड-१९ बाट एउटा पनि ज्यान गएको छैन भनेर तिघ्रा ठटाउँदै गर्दा यस्तै शैली, प्रवृति र काम गर्ने तरिका हो भने केही दिनपछि मर्ने मानिसको संख्या गन्न भ्याइदैन भनेर कसैले भनेन्?’ उनले प्रश्न गरे।

सांसद थापाले सिमानामा अलपत्र परेको नागरिकलाई जोगाउन नसक्नेले सीमा जोगाउँछ र खाडीमा अलपत्र परेकालाई ल्याउन नसक्नेले भूमि ल्याइदिन्छ भन्ने भ्रम भएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell