PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बाँकेमा आइसोलेसन वार्ड अभाव : खोजी गर्न सेना, प्रशासन र प्रहरीका अधिकारी परिचालन



पहिलोपोस्ट

बाँकेमा आइसोलेसन वार्ड अभाव : खोजी गर्न सेना, प्रशासन र प्रहरीका अधिकारी परिचालन

काठमाडौं : कोरोना भाइरसबाट आज एकैदिन ४७ जना संक्रमित देखिएको बाँकेमा आइसोलेसन वार्डको अभाव देखिएको छ।

जिल्लाको एकमात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन भरिएपछि थप संक्रमितका लागि अभाव देखिएको हो। बाँकेमा यसअघि नै ३४ जना संक्रमित थिए। खजुरा अस्पतालको आइसोलेसन क्षमता सामान्यत: ३० जनाको हो।

यो आइसोलेसनमा ठाउँ नभएपछि आज संक्रमण देखिएका ४७ जनालाई कहाँ राख्ने भन्ने अन्यौल देखिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आइसोलेसनको खोजी भइरहेको बताए। उनका अनुसार आइसोलेसन खोजीका लागि टोली परिचालन गरिएको छ। थप संक्रमितलाई कुन अस्पतालमा राख्ने वा अन्य ठाउँमा राख्ने भन्ने निर्णय नभइसकेको उनले जानकारी दिए। ‘ठाउँ तय भएको छैन। अहिलेसम्मको तयारीभन्दा बढी संख्या आयो। अझ कति संख्यामा आउने हो भन्ने एकिन छैन। खोजिरहेका छौं।’

आइतवार विहान नरैनापुर क्वारेन्टाइनमा भारतबाट आएका २५ वर्षीय युवकको मृत्यु भएको थियो। सोही क्षेत्रका क्वारेन्टाइनमा बसिरहेका २ सय ६४ जनाको स्वाब संकलन गरिएको थियो। १९० जनाको रिपोर्ट आउँदा ४७ जनामा पोजेटिभ देखिएको छ। बाँकीको रिपोर्ट आउन बाँकी छ।

संक्रमित थपिने देखिँदा आइसोलेसन अभाव भएपछि खोजीलाई तीव्र पारिएको छ।

आइसोलेसन खोजीमा नरैनापुरको वडा नम्बर २ लक्ष्मणपुरमा रहेका प्रहरी निरीक्षक मानबहादुर विकले आइसोलेसन कक्ष छ कि भनेर हेर्न आएको बताए। ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन भरियो। नयाँ ठाउँ खोज्दैछौं।‘

उनका अनुसार जिल्लाबाट टोली आएको छ। नेपाली सेनाका मेजर, जिल्ला प्रशासन कार्यालयबाट अधिकृत र उनीसहित स्थानीय प्रहरी कार्यालयका प्रतिनिधि छन्। उनीहरुले लक्ष्मणपुरको प्राथमिक स्वाथ्य केन्द्रमा आइसोलेसन हेरेका हुन्। निर्णयमा भने पुगिसकेका छैनन्।

प्रदेश ५ को प्रदेश स्वास्थ्य निर्देशनालयले बाँकेका विभिन्न स्थानमा आइसोलेसन बनाउनका लागि अध्ययन गरिरहेको बताए। मन्त्री सुदर्शन बरालले आइतवार अवलोकन गर्दा तत्काललाई बाँकेको लायन्स क्लबको भवनमा राख्ने निर्णय भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell