PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोरङका कोरोना संक्रमित मुम्बईबाट सिमानाको चोरबाटो हुँदै आइपुगेका थिए घर



अनन्तराज न्यौपाने

मोरङका कोरोना संक्रमित मुम्बईबाट सिमानाको चोरबाटो हुँदै आइपुगेका थिए घर

विराटनगर : सोमवार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिकाका युवक गत जेठ २ गते भारतको मुम्बईबाट घर आइपुगेका थिए। रतुवामाई नगरपालिकाका नगर प्रमुख रबिन राईले २५ वर्षीय ति युवक नेपाल-भारत सिमानाको चोरबाटो प्रयोग गरेर २ गते घर आइपुगेको बताएका हुन्।

प्रमुख राईका अनुसार वडा नम्बर १ सोनापुर घर भएका सो युवक घर आइपुगेपछि भोलिपल्टै उनका काकाले विराटनगरको कोभिड-१९ अस्पताल ल्याएर उनको स्वाब परीक्षण गर्न लगाएका थिए। रतुवामाई नगरपालिका आम्बाडीमा रहेको हेल्प डेस्कमा उनको आरडीटी परीक्षण पनि गरिएको थियो।

आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा कोरोना पोजिटिभ आएको छ। उनीसँगै मोरङमा कोभिड-१९ का रोगीको संख्या ३ पुगेको छ। यसअघि आइतवार मोरङका २ जनामा कोभिड-१९ फेला परेको थियो।

संक्रमित पुरुषको सम्पर्कमा आएका र उनका परिवार गरी १२ जनालाई अहिले नजिकैको मदरसामा क्वारेन्टाइनमा राखिएको राईले बताए।

उनले भने, ‘ती युवक घर आउनेबित्तिकै हामीले सतर्कता अपनाएका छौँ। उनको सम्पर्कमा आएका सबैको मंलवारदेखि पीसीआर परीक्षण हुँदैछ। त्यसैले आत्तिनु पर्ने कारण छैन। यहाँ अहिले नै काबुबाहिरको स्थिति छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell