काठमाडौं : गुल्मी जिल्लाको मदाने गाउँपालिकाका एक स्थानीयलाई रुपन्देहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शिक्षण पेसामा संलग्न उनी उपचारका लागि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाइएकोमा उनमा संक्रमणको पुष्टि भएको थियो।
संक्रमित व्यक्ति केही दिनदेखि अस्पतालमै उपचाररत थिए। उनको अवस्था गम्भीर रहेको प्रदेश ५ का स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। 'विरामीको अवस्था गम्भीर छ,' उनले भने। उनको आइसीयुमा उपचार भइरहेको छ।
उपचारमा रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अस्पताल सिल गरिएको छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संक्रमित व्यक्ति उपचारका लागि रुपन्देही गएको र त्यही संक्रमण पुष्टि भएको जानकारी दिए।
'हामीलाई भर्खरै जानकारी आएको छ। हामी यस विषयमा बुझिरहेका छौं। हामीले स्थानीय तहसँग सम्पर्क गरेर उहाँ सम्पर्क ट्रेसिङ गर्छौ,' उनले भने।
संक्रमित उनी गुल्मीको एक विद्यालयका प्रअ हुन्।
'उहाँलाई क्षयरोग र जन्डिसको समस्या थियो। लकडाउन भइसकेपछि विद्यालयहरु बन्द थिए। उहाँ थप उपचारका लागि रुपन्देही जानु भएको थियो। उतै संक्रमण पुष्टि भएछ,' मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भन्डारीले भने, 'हामीलाई सूचना आएसँगै हामी परिवारलाई सम्पर्कमा ल्याएका छौं। उहाँको परिवार र अन्य सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ सुरु गरेका छौं।'
उनी जेठ जेठ १ गते उपचारका रुपन्देही गएका थिए।
'उहाँ रुपन्देही एक गते जानुभएको रहेछ। उहाँलाई अस्पतालमै लाग्यो कि यतै लाग्यो भन्ने खुलेको छैन। उहाँको परिवारमा पनि विदेशबाट आएका व्यक्ति पनि थिएनन्,' उनले भने।