PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्टाफसँग मिलेर पत्‍नीले गरिन् पतिको हत्या



अनन्तराज न्यौपाने

स्टाफसँग मिलेर पत्‍नीले गरिन् पतिको हत्या

विराटनगरः विराटनगरस्थित देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलाललाई आफ्ना स्टाफसित मिलेर उनकै श्रीमतीले हत्या गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुलाल र उनको परिवार जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १२ घर भई विराटनगर महानगरपालिका वडा नम्बर १० मधुमारा चौकमा बस्दै आएका थिए।

उनको हत्याको अभियोगमा प्रहरीले उनकी श्रीमती मीना श्रेष्ठ दुलालसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने ब्रह्मदेव शाह र इटहरी उमनपा वडा नम्बर १२ बस्ने सोनु शाह पनि छन्।

घटना विवरणअनुसार यही जेठ ४ गते अन्दाजी राति २.३० बजे देवीप्रसादकी श्रीमती मीनाले आफ्ना छिमेकी, घरबेटी र धनबहादुर काफ्लेलाई आफ्ना श्रीमान अचेत अवस्थामा रहेको भनी बोलाएर मृतकलाई गोल्डेन अस्पताल पुर्‍याएकी थिइन्।

अस्पतालमा पुर्‍याएपछि प्रहरीले लाशको अनुसन्धान गरेको थियो। अनुसन्धानमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो।

अनुसन्धानमा फेला परेको प्रमाणअनुसार मृतक दुलालसित उनकी श्रीमती मीनाका बीच सम्बन्ध राम्रो थिएन। उनीहरूबीच बारम्बार झैझगडा र मनमुटाव भइरहन्थ्यो। यसैका कारण मीनाले पति देवीप्रसादलाई मार्ने षडयन्त्र गरिन्।

श्रीमती मीनाकै योजनाअनुसार ब्रह्मदेव र सोनु दुलालका कोठामा राति अन्दाजी साढे १० बजे पुगे। श्रीमती मीनाले ढोका खोलेपछि दुबै जना घरमाथि चढे। त्यही केही छिनमै हातमा पञ्जा लगाएर घाँटीमा डोरी बाँधेर दुलालको हत्या गरे।

हत्याको अभियोग लागेका दुवैजना विगत ४ वर्षदेखि दुलालकै फार्मेसीमा काम गर्दै आएका व्यक्ति हुन्।

प्रहरीले प्रमाणस्वरूप मोबाइल ४ थान, प्रयोग गरिएका सिमकार्ड ८ थान, एयलमक नामको पाउडरको बट्टा १ थान, कपडाको ब्यान्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पञ्जा ८ जोर, घटनास्थलबाट उठाइएको रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङ्केटको टुक्रा १ थान र २ टुक्रामा चुँडिएको सिक्री १ थान पनि बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell