
काठमाडौँः लोक सेवा आयोगले सरकारले गरेको निर्णय अनुसार कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने भएको छ। यसअघि विज्ञापन संकलन भएका तर परीक्षा कार्यक्रम निर्धारण नभएका हकमा पनि सरकारले गरेको निर्णय आयोगले गरेको छ।
यस्तै, लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय भएको छ। कुनै एक चरणको परीक्षा कार्यक्रम सञ्चालन भएकाको हकमा पनि आयोगले कोरोनाको स्थिति सामान्य भएपछि नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यस्तै, दरखास्त संकलन भएका तर कुनै पनि चरणको परीक्षा नभएका हकमा सरकारले गर्ने निर्णय अनुसार नै अघि बढ्ने आयोगको निर्णय छ।
यस्तै, गत फागुन २८ गतेबाट संकलन गरिएको खरिदार वा सो सरहको पदका लागि भएका विज्ञानमा आवेदन दिने समय २०७७ जेठ ९ गतेबाट बन्द हुने भएको छ। दरखास्त बुझाएका तर दस्तुर बुझाउन बाँकी रहेका आवेदकको हकमा स्थिति सामान्य भएपछि निश्चित अवधि तोकी दस्तुर तिर्न समय दिने आयोगले निर्णय गरेको छ।
आयोगले वार्षिक कार्यतालिका अनुसार विज्ञापन हुन बाँकी रहेका पदको विज्ञापन स्थगन गर्ने निर्णय गरेको छ। न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाको पदका विज्ञापन स्थिति सामान्य भएपछि नयाँ परीक्षा कार्यक्रम निर्धारण हुनेछ।
यस्तै, आयोगले सुरक्षा निकाय र संगठित संस्थाको हकमा पनि कुनै पनि चरणको परीक्षा सञ्चालन भइसकेको हकमा पछि नयाँ तालिका अनुसार बाँकी परीक्षा सञ्चालनको निणृय गरेको छ। दरखास्त बुझेका तर, परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेकाको हकमा सरकारको निर्णय अनुसार अघि बढ्नेगरि स्थगन भएको छ।