PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजस्थित एक उद्योगको दावी : सरकारले चाहे हप्ता दिनभित्रै नेपालमै भीटीएम उत्पादन गर्छौँ



राधेश्याम पटेल

वीरगंजस्थित एक उद्योगको दावी : सरकारले चाहे हप्ता दिनभित्रै नेपालमै भीटीएम उत्पादन गर्छौँ

वीरगंज : सरकारले उद्योग सञ्चालन गर्ने सहज वातावरण बनाए एक साता भित्रै भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) नेपालमै पहिलो पटक उत्पादन थाल्ने वीरगंजको एक औषधि उद्योगले दावी गरेको छ। संकलन गरिएको स्वाब ल्याबसम्म पुर्‍याउन भीटीएमको प्रयोग गर्ने गरिन्छ।

वीरगंज-पथलैया औद्योगिक करिडोरस्थित बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ छातापिपरामा नवनिर्मित एभरेस्ट प्यारेन्टेराल्स प्रालिले यस्तो दावी गरेको हो।

लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टका लगानीकर्ता तथा काठमाडौंका व्यवसायी उमंग राणा सरियाले करिब एक अर्ब लगानीमा इन्जेक्सन उत्पादन गर्ने उद्योगको निर्माण दुई वर्ष पहिले गरेका थिए।

नेपालमा लकडाउन नभएको भए अहिले उद्योगले आफ्नो उत्पादन बजारमा ल्याई सक्ने तयारी गरेको थियो। तर, लकडाउनमा स्थानीय प्रशासनको सहयोग नपाउँदा औषधि विभागबाट ८–१० प्रकारको इन्जेक्सन उत्पादन गर्ने स्वीकृति पाइसक्दा पनि उत्पादन थालेको छैन।

उद्योगका प्रशासकीय अधिकृत मुकेश खेतानले भने, ‘औषधि विभागबाट १ लाख भीटीएम उत्पादन गर्ने स्वीकृति र निर्देशन आउने क्रममा थियो। हाम्रा केमिस्टहरुले भीटीएमको सबै रिसर्च एण्ड डेभेलपमेन्ट (आर एण्ड डी–भीटीएम बनाउने फर्मुला र तयारी)को काम पनि भइसकेको थियो, त्यसैबीचमा बारा, पर्सामा निषेधाज्ञा जारी हुदाँ कर्मचारीहरु सहज रुपमा उद्योगमा जान पाएका छैनन्, त्यस कारण उद्योगको काम रोकिएको छ।’

उनले बारा प्रशासनले ४ वटा चार पांग्रे गाडी र ६ वटा मोटरसाइकलको सवारी पास दिए भोलिदेखि नै उद्योगमा भीटीएम उत्पादन थाल्ने बताए।

‘कोरोना संक्रमणको लागि विदेशबाट सहयोगमा टेस्टिङ किट पर्याप्त मात्रामा उपलब्ध छ, तर भीटीएम अन्तर्राष्ट्रिय बजारमा सहजमा खरिद गर्न नसक्दा समस्या भइरहेको छ’, उनले भने, ‘नेपालमा पहिलो पटक उत्पादन भई औषधि विभागबाट नमुना स्वीकृत भयो भने सामाजिक सेवा अनुरुप प्रति पिस १ सय ५० रुपैयाँमा मात्र नेपाल सरकारलाई बिक्री गर्ने निर्णय गरेका छौँ।’

उद्योगमा ६० जना मजदुर नियुक्त गरिएको छ, जसमध्ये २५ जनालाई घरमै बस्न भनिएको छ भने ३५ जना उद्योगको उत्पादन थाल्ने तयारीमा खटाइने छ। हाल २० जना मजदुरलाई उद्योग परिसरमा राखेर उद्योग चलाउन व्यवस्था गरिएको छ भने बाँकी प्रशासन र विज्ञ टोलीका १५ जनालाई उद्योग र वीरगंज ओहोरदोहार तथा बजारबाट खाद्यान्न, अत्यावश्यक तथा कच्चा पदार्थको लागि प्रशासनसँग सवारी पासको लागि हारगुहार गर्दा पनि प्रशासनले नसुनेको उद्योगका प्रशासकीय अधिकृत खेतानले गुनासो गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell