PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

पर्सामा हट्यो निषेधाज्ञा, भारतीय तरकारी तथा फलफूल रोकिने



राधेश्याम पटेल

पर्सामा हट्यो निषेधाज्ञा, भारतीय तरकारी तथा फलफूल रोकिने
फाइल फोटो

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा जिल्लामा सोमवार राति १२ बजेपछि निषेधाज्ञा हटाउने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकमार कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकबाट जेठ २० गतेसम्म जारी लकडाउनलाई व्यवस्थित रुपमा पालना गर्दै निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

‘सर्वपक्षीय र सुरक्षा समितिको बैठकमा निषेधाज्ञाको समीक्षा गरियो,वीरगंजमा बढेको कोरोना संक्रमणको रोकथामको लागि लगाइएको निषेधाज्ञा हाललाई जारी नगर्ने निर्ण भएको हो,’ बस्नेतले भने।

सुरक्षा समितिको बैठकमा वीरगंज पावरहाउसदेखि रजत जयन्तीसम्मको सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी–स्वास्थ्यकर्मी बोक्ने सवारी सधानबाहेक अन्य सवारी चल्न नदिने, स्थानीय स्तरबाट तरकारी र खद्यान्न आपुर्ति गर्ने, ढुवानी गर्ने, कृषि कार्यका लागि बिउ, मलखादलगायतको स्थानीय स्तरमा व्यवस्थापन मिलाउने निर्णय भएको छ। त्यसैगरी, वीरगंज भन्सार नाकाबाट कच्चा पदार्थ वा निर्माण समाग्री लिएर राति ६ बजेदेखि विहान ६ बजे सम्म ढुवानी गर्न दिइने, अति आवश्यक ४ दर्जन उद्योग सञ्चालन गर्न वातावरण बनाउने, वीरगंज नाकाबाट मालसमान जाँच पास गर्न भन्सार कार्यालयले व्यवसायी, क्लियरिङ एजेन्टलाई सवारी पास दिने वीरगंज भन्सारको सम्बन्धित बैंक एभरेष्ट बैंक सञ्चालन गर्न लगाउने जस्ता निर्णय भएको छ। औषधी पसल २४ घण्टा खोल्ने, किराना पसल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खोलिने र सामाजिक दुरी कायम गरी किराना सामाग्री बिक्री वितरण गर्न व्यवस्थापन मिलाउने निर्णय जारी भएको उनले बताए।

यसैवीच, पर्सामा बढेको कोरोना संक्रमणको कारण जिल्ला प्रशासन बाराले लकडाउन अवधिसम्म वैशाख ३१ गतेको सूचनाअनुसार जेठ १ गतेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ। वीरगंजबाट बारामा जाने अतिआवश्यक सवारी सधानबाहेक बारा पस्ने सबै प्रकारको सवारी सधानमा रोक लगाएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell