PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइसोलेसन अभावले बाँकेमा संक्रमित क्वारेन्टाइनमै, लक्ष्मणपुरमा बनाउन खोज्दा विरोध



कमलराज भट्ट

आइसोलेसन अभावले बाँकेमा संक्रमित क्वारेन्टाइनमै, लक्ष्मणपुरमा बनाउन खोज्दा विरोध

काठमाडौँ: बाँकेमा आज थपिएका ४७ जना संक्रमित क्वारेन्टाइनको अभावमा क्वारेन्टाइनमै बस्न बाध्य भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा बाँकेको नरैनापुरका ४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो। उनीहरु अहिलेसम्म आइसोलेसनमा हुनुपर्थ्यो। तर, संक्रमित रिपोर्ट आएको ५/६ घण्टा भइसक्दा पनि क्वारेन्टाइनमै छन्। कारण जिल्लाको एकमात्र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ३० बेड भएको आइसोलेसन खाली छैन। बाँकेमा यसअघि नै ३४ जना संक्रमित छन्। 

सोमवार पुष्टि भएका संक्रमित सबै भारतबाट आएका हुन्। भारतबाट प्रवेश गरेर नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका २६३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा १९० जनाको रिपोर्ट आएको थियो। १९० मध्ये ४७ जनामा संक्रमण देखिएको हो। बाँकी ७३ जनाको रिपोर्ट आउन बाँकी छ।

बाँकेको राप्तीपारी नरैनापुर ५ स्थित इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिले संक्रमितहरुलाई क्वारेन्टाइनमै अलग राखिएको छ।

नेपाल राष्ट्रिय कृष्ण प्रावि हुलासपुरवामा १२ जना संक्रमित छन्। यहाँ संक्रमितसहित कुल ७२ जना क्वारेन्टाइनमा छन्। जयकिसान मावि भोजपुरमा १४ जना संक्रमित छन्। यहाँ कुल ६० जना बसेका छन्।

दीपेन्द्र प्रावि भगवानपुरमा १७ जना संक्रमित छन् भने कुल ३८ जना क्वारेन्टाइनमा छन्।

आदर्श मावि लक्ष्मणपुरमा जना ४ जना संक्रमित छन् भने कुल ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विकले आइसोलेसन निश्चित नभएकाले संक्रमितहरुलाई क्वारेन्टाइनमै अलग राखिएको बताए। उनका अनुसार लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका रुपमा विकास गर्ने निर्णय भएको छ।

तर, स्थानीयले विरोध गरेका छन्। मुस्लिम समुदायको बाहुल्यता भएको लक्ष्मणपुरमा स्थानीय अगुवाले आइसोलेसन बनाए संक्रमणको जोखिम बढ्ने भन्दै विरोध गरेका हुन्। तर, बाँके प्रशासनले भने लक्ष्मणपुरमा आज रातभरमा आइसोलेसन निर्माण गरिसक्ने भनेर जनशक्ति र स्वास्थ्य सामग्री पठाइरहेको छ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवार दिउँसो नेपाली सेनाका मेजर, जिल्ला प्रशासन कार्यालयबाट अधिकृत र इलाका प्रहरीका कार्यालय भगवानपुरका प्रतिनिधिले अवलोकन गरेर आइसोलेसनका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका थिए। उनीहरुले अवलोकन गर्दा स्थानीयले भने बनाउन नहुने भन्दै विरोध गरेका थिए।

भगवानपुरका प्रहरी निरीक्षक विकले लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई आइसोलेसन वार्ड बनाउन जिल्ला सदरमुकामबाट बेड आइपुगेको जानकारी दिए। 'आज रातभरमा निर्माण भयो भने भोलि बिहानसम्म संक्रमितलाई सार्‍छौँ,' उनले भने।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले आइसोलेसन निर्माणका लागि १० जना प्रहरी जनशक्तिलाई लक्ष्मणपुर पठाइएको बताए। 'हामीले जिल्लाबाट सपोर्ट पठाइरहेका छौं। जिल्लाबाट गर्ने सबै गर्छौं। सेक्युरिटीको हामीले हेरिरहेका छौं। स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय, सीसीएमसी लगायतले पठाइरहेका छन्,' उनले भने, 'रातोरात सबै काम हुन्छ। संक्रमितलाई लक्ष्मणपुरमा सार्‍छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell