PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्मी शैलीको एउटा अपराध : रक्सी खुवाउँदै टाउकोमा घन, बारीमा गाडियो शव



कमलराज भट्ट

फिल्मी शैलीको एउटा अपराध : रक्सी खुवाउँदै टाउकोमा घन, बारीमा गाडियो शव

काठमाडौं : यो घटना 'सावधान इन्डिया', 'क्राइम पेट्रोल'जस्ता टेलिश्रृङ्खलामा देखाइने कथा होइन।

करिब १ महिना अघिदेखि पोखरा, समिनताराका विमल रानाभाट बेपत्ता थिए। लकडाउनका कारण उनलाई खोज्ने कोही भएनन्। ठीक एक महिनापछि विमल होइन उनको शव चाहिँ भेटियो। त्यो पनि उनकै घर नजिक, ज्ञानबहादुर परियारको घर पछाडि, बारीको डिलमा गाडेको अवस्थामा।

त्यसपछि उनको शव, मृत्युको कारण र समग्र घटनाबारे अनुसन्धान सुरु भयो।

विमल रानाभाटलाई घन प्रहार गरेर मारिएको रहेछ। अभियुक्त चाहिँ ज्ञानबहादुर। यहाँ मार्ने र मर्नेको उमेर अन्तर मात्र १ वर्ष। ज्ञानबहादुर २१ वर्षका भए, विमल २२ वर्षका।

घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ज्ञानबहादुर त पक्राउ परे नै। गत शुक्रबार उनीसँगै अन्य ३ जना पनि प्रहरीको नियन्त्रणमा परे। विशेष सूचनाका आधारमा अनुसन्धान सुरु भएको थियो। शनिवार बिहान उक्त सूचना सही सावित भयो- विमलको शव भेटियो, सडेको अवस्थामा।

के हो त मार्नुको कारण?

ज्ञानबहादुर परियारकी आमा विदेशमा छिन्। उनी र बुबाबीच झगडा परेपछि बुबा पुर्ख्यौली थलो लमजुङतिर बस्दै आएका छन्। पोखरामा परियारकी श्रीमती र उनीमात्र बस्छन्।

मृतक रानाभाटका बाबु 'प्यारालाइसिस' भएर हिँड्न सक्दैनन्। आमा पनि घरमै बस्छिन्। विमल कुलतमा फसेका थिए। त्यसैले प्राय घरमा बस्दैनथे। कहिले काहीँ ज्ञानबहादुरकै घरमा पनि बस्थे। किनकि उनीहरुबीच साथीको सम्बन्ध थियो। उनीहरु एकअर्काको घरमा आउजाउ गर्थे।

एक दुई पटक आफू नभएको बेलामा पनि रानाभाटलाई आफ्नी श्रीमतीसँग भएको थाहा पाएपछि ज्ञान बहादुरको रीस चुलियो। उनले दुईबीचको सम्बन्धमा शंका गरे। र, मार्ने योजना बनाए।

योजना अनुरुप – श्रीमतीलाई माइती पठाए परियारले। लकडाउन भएकाले सहजै माइती जाने अवस्था थिएन। त्यस्तोमा कुटपिट गरे र 'लखेटे'। उनी बाग्लुङस्थित माइती गइन्। उनी गएलगत्तै घर पछाडिको मकै बारीमा ४ फिट गहिरो खाल्डो खने। योजना अनुरुप सबैकुरा ठीक चल्दै थियो।

त्यसपछि विमललाई घर बोलाउनु पर्‍यो। साथीको निम्तो नस्वीकार्ने कुरै भएन। त्यसमाथि मदिरा र खानपिनको लोभ। रानाभाट खुशीखुशी पुगे। खाए पिए।

केही बेरमै उनीहरु बीच विमल र ज्ञान बहादुरकी श्रीमतीबीचको सम्बन्धबारे चर्चा सुरु भयो। ज्ञानबहादुरले सोधपुछ गरे। छलफल विवादमा परिणत भयो। पहिलेदेखि नै रीसले चुर भएका उनले घनले प्रहार गरे, टाउकोमै। विमलको घटनास्थलमै मृत्यु भयो।

'ज्ञाबहादुरलाई दुई जनाले विमललाई मार्ने उपाय दिएका थिए। त्यसैले परियार एक्लो योजनाकार थिएनन्,' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले भने।

योजनामा संलग्न अन्य तीन किशोरको सहयोगमा शवलाई बारीसम्म पुर्‍याउने, खाल्डोमा हाल्ने र गाड्ने काम भयो।

घटना भएको एक महिनापछि प्रहरीले उत्खनन् गर्दा शव सडेको थियो। उनलाई जुत्ता, पाइन्ट, बेल्ट लाएकै अवस्थामा गाडिएको रहेछ।

'हत्या गर्दा परियारको लुगामा पनि रगत लागेको रहेछ। त्यो कपडा र सोफाको टुक्रा ल्याएर घर अगाडिको कम्पाउण्डमा जलाएछन्। त्यसको अंगार पनि संकलन गरेर प्लास्टिकमा उठाइएको रहेछ तर फालिसकेका थिएन। बिर्सिएको हो कि फाल्ने बुद्धि नआएको हो, ' कार्कीले भने।

कुनै जाहेरी र उजुरीविनै अनुसन्धान!

मृतक रानाभाट बेला बेला घर छोडेर हिँड्ने भएकाले बाआमाले त कतै सोधिखोजी गरेनन्। प्रहरीलाई समेत खबर गरेनन्।

प्रहरी अरु पुराना घटनाको अनुसन्‍धान गर्दै थियो। अपराधका फरार अभियुक्तहरु लुकिछिपी बस्ने ठाउँहरुमा पुगेर सोधपुछ गर्दै थियो। शंकास्पद गतिविधिको बारेमा अनुसन्धान गरिरहँदा विमल हराएको बारे जानकारी पाए। त्यसपछि विमलको खोजी थाल्यो। उनको परिवारलाई त छोरा हराएको समेत थाहा रहेनछ।

घटनासँग सम्बन्ध राख्नसक्ने मानिसहरुमाथि छानविन भइरहेको थियो। त्यस्तैमा गत शुक्रबार एक मानिसले प्रहरीलाई घटना बारे 'क्लु' दिए। त्यसपछि दिनभर घटनास्थलबारे अनुगमन भयो।

त्यत्रो घटना एक्लैले सुल्ट्याउन सहज अवस्था थिएन। त्यसैले सम्भावित सहयोगीको खोजी भयो।

पत्ता लाग्यो। उनीहरु नभागुन् भन्ने हेतुले प्रहरी खटाएर निगरानी गरिएको थियो।

त्यस रात निकै ठूलो पानी पर्‍यो। घटनास्थल भिरालो ठाउँमा छ। त्यसैले राती नै त्यहाँ पुग्न अप्ठ्यारो भयो। विहानै झिसमिसेमा गएर ठाउँ अवलोकन गरे। मकै बारी भएकाले शंकास्पद् ठाउँहरु खन्नु पर्‍यो।

'खन्दै जाँदा एक ठाउँमा अलिकति कम्मरको भाग देखियो,' एसपी कार्कीले भने। पक्राउ परेकाहरुलाई ल्याएर देखाउँदा अपराध स्वीकारे।

अभियुक्तहरु क्रमश : सागर परियार, सञ्जय दर्जी, सुरेन्द्र तामाङ (माथिल्लो लाइन) तथा आशिष परियार, देवबहादुर परियार र कुमार परियार (तल्लो लाइन)

घटनामा संलग्नमध्ये योजनाकारहरु भेटिएका थिएनन्। उनीहरु बारे यकिन विवरण पनि आएको थिएन। पक्राउ परेकाहरुले नै उनीहरुसम्म पुर्‍याए। अहिले उक्त घटनामा संलग्न ६ जना हिरासतमा छन्। २ जना पूर्व योजनामा सघाउने र ३ जना मारिसकेपछि गाड्नमा सघाउने।

शव उत्खनन् पछि मात्र पूर्व योजनाकारहरु पत्ता लागे।

अब उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने एसपी कार्कीले बताए।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा बस्ने ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने आशिष परियार, सुरेन्द्र तामाङ, सागर परियार, कुमार परियार र सञ्जय दर्जी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell