PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लकडाउनमा परेका फुटबलर आशीष भन्छन् : खेलेर होस् या ड्युटीमा रहेर, देशको सेवाबाट छु सन्तुष्ट



मुकुन्द घिमिरे

लकडाउनमा परेका फुटबलर आशीष भन्छन् : खेलेर होस् या ड्युटीमा रहेर, देशको सेवाबाट छु सन्तुष्ट

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् आशिष लामा। विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबका लागि ९ गोल गरेका उनी पछिल्लो संस्करणमा सर्वाधिक गोलकर्ता बने।

त्यसो त अरु विभागीय टोलीको तुलनामा एपीएफको प्रदर्शन औशतमात्र देखियो तर त्यही टिममा स्ट्राइकर आशिषको प्रदर्शन भने सम्झन लायक रह्यो। उनी लिगकै सर्वाधिक गोलकर्ता बने।

'क्रियाको प्रतिकृया' भनेजस्तो लामालाई लिगको उच्च प्रदर्शन राष्ट्रिय टोलीमा फर्कन कोषे ढुंगा सावित भयो। लिग सकिएसँगै नेपालको तयारी थियो विश्वकप छनोट अन्तर्गत अस्ट्रेलिया र चाइनिज ताइपेइसँग खेल्ने, त्यो पनि घरेलु मैदान दशरथ रंगशालामा।

त्यसकै प्रशिक्षणका लागि नेपाली फुटबल टिमका प्रशिक्षक योहान कालिनले प्रशिक्षणका लागि खेलाडीहरुको सूची बनाए। जसमा आशिष लामाको नाम पनि समावेश थियो।

मोफसलमा प्रतियोगिता खेलिरहेका खेलाडीहरु क्याम्पमा फर्कन पनि समय लागिरहेको थियो भने यता प्रशिक्षण चल्दै थियो चैत्र पहिलो सातासम्म। विश्वभर कोरोनाका सङक्रमण फैलिएकोबारे चर्चा पनि चल्दै थियो। चीन बाहिर पनि सङ्क्रमण फैलिइसकेको थियो। ढिलोगरी भए पनि नेपालमा त्यसको प्रभाव पर्‍यो।

राष्ट्रिय खेलकुद परिषदले सबै खेल गतिविधि बन्द निर्देशन दिएसँगै राष्ट्रिय टिमको प्रशिक्षण पनि रोकियो। नेपालमा हुन लागेको ऐतिहासिक फुटबल खेल पनि अनिश्चित कालका लागि टर्‍यो।

त्यससँगै उनी हान्निए गाउँतिर। नुवाकोट उनको घर। लकडाउन शुरु भएपछि उनी उतै रोकिए।

+++

गाउँमा लामाको दैनिकी फेरिएको छ।

'लकडाउन छ। गाउँमा बसेको छु। गाउँघरमा अलिअलि काम भइहाल्छ। त्यसले गर्दा फिटनेस बिग्रेला भन्ने हुँदैन, ' लामाले लकडाउनको अनुभव साट्दै भने, 'त्यही पनि घरमै युट्युबहरु हेरेर वर्क आउट पनि गरिरहेको हुन्छु।'

सामाजिक सन्जालमा सक्रिय रहने उनी यसका भिडियोहरु पनि हालिरहन्छन्। केही समय अघि उनले सिलिन्डर बोकेर वर्कआउट गरिरहेको भिडियो सार्वजनिक गरे। बच्चाहरुसँग पनि रमाउँदै उनीहरुलाई गन्ती गर्न लगाउँदै पुस-अप गरिरहेको भिडियो पनि उनले सोसल मिडियामा हाले।

त्यसो त सशस्त्र प्रहरीले सबै आफ्ना खेलाडीहरुलाई लकडाउनसँगै ड्युटीका लागि बोलाएको थियो। त्यही अनुसार खेलाडीहरु अहिले ड्युटीमा छन्। फिल्डमा खटाएको नभए पनि खेलाडीहरुलाई पनि स्ट्यान्डबाइ राखेको छ, एपीएफले।

'सबै खेलाडीलाई बोला'को थियो। उपत्यकाबाहिर रहेका खेलाडीहरुलाई चाहिँ आफ्नो नजिकको गुल्ममा गएर हाजिर गर्नु भनेको थियो,' आशिषले सुनाए, 'त्यही अनुसार मैले यहाँ नजिकैको गुल्ममा गएर नाम टिपाएर हाजिर गरिरहेको छु। यहाँ मान्छे नपुगेको बेलामा त्यहाँ गएर ड्युटी गर्ने अनि रिपोर्ट दिने भइरहेको छ।'

फुर्सदमा कहिले डोको बोकिरहेको तस्बिर सेयर गर्छन् त कहिले जंगलमा गुराँस टिपिरहेको फोटो पोस्ट गर्छन्। उनी सानासाना भिडियो पनि बनाइरहेका हुन्छन् जस्तो कि बाहुबलीको।

'बाहुबली मुभी राम्रो लाग्छ। गाउँघरमा रमाइलोका लागि मात्र यसो ट्राइ गरेको। नेट पनि खासै राम्रो चल्दैन,' उनले हाँस्दै सुनाए। फिल्म हेर्न एकदमै चासो लाग्ने गरेको उनले सुनाए। त्यसमा पनि 'साउथ इन्डियन'मा रुची उनको।

+++

उनले फुटबल खेल्न भने काठमाडौंबाटै सुरु गरेका हुन्। सानैदेखि काठमाडौं नै बसेकाले उनको खेल करियर यहीँबाट अघि बढ्यो। काठमाडौंमा सामान्य खेलहरु खेल्दाखेल्दै राष्ट्रिय टीममा उनी अटाए।

'घर छेउमै फुटबल ग्राउन्ड थियो। स्कुलहरुमा पनि खेल भइरहन्थ्यो। माहोल फुटबलको थियो। त्यस्तैत्यस्तै भएर म फुटबलमा लागेँ,' उनले भने, 'मेरो पारिवारिक पृष्ठभूमिमा फुटबल खेलाडी कोही छैन। मेरो बाबा पुलिस हुनुहुन्छ। आमा गाउँमै घरखेत हेर्नुहुन्छ। फुटबलमा चाहिँ हाम्रो परिवारमा ममात्र हो।'

प्रोफेसनल फुटबलर बन्न उनले लामो संघर्ष गरे। कहिले एउटा क्लबमा पुगे त कहिले अर्को क्लब।

'अहिलेसम्म मैल यू १४, १६ खेलेँ। सी डिभिजन बी डिभिजन हुँदै ए डिभिजन खेलेँ,' उनले भने, 'मैले एनआरटी, बोइज युनियन, मनाङ मर्स्याङदी लगायतका टिमहरुबाट खेलेँ। त्यसपछि चाहिँ एपिएफ जोइन गरेँ।'

फुटबलमा आफूले गरेका संघर्ष सम्झँदा गम्भीर बन्छन्। 'बच्चैदेखिको मेहेनत छ एउटा फुटबल खेलाडी बन्नका लागि। ७/८ वर्ष देखिको मेहेनत छ। कथा लामो छ,' उनले भने।

ब्यवसायिक खेलाडी बन्न सामान्य रुपमा देखेजस्तो सहज नहुने लामाको भोगाइ छ।

'मान्छेले त्यसै प्रोफेसनल रुपमा खेल्न सक्दैन। कुनै पनि विरुवा त्यत्तिकै ठूलो हुँदैन। त्यसलाई मलजल गर्नुपर्छ,' उनले पृष्ठभूमि खुलाए, 'घरमा फुटबल खेल्ने कोही थिएन। यसले गर्दा धेरैकुरा ज्ञान हुँदैन थियो। त्यसमा पनि एउटा सामान्य परिवारको मान्छे। सिधै फुटबलको क्षेत्रमा जाँदा एकदमै गाह्रो भएको थियो। मान्छेहरु चिनेको थिएन। तर, म दृढ रहेँ।'

जहाँ भए पनि उनको ध्यान खेलमा नै छ। अनि सचेत छन् फिटनेस कायम राख्नेमा।

'हाम्रो काम नै खेल्ने हो। अहिले कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउनले खेलमात्र होइन सबै क्रियाकलाप रोकिएको छ,' उनले भने, 'आफूलाई फिट रहिरहनु पर्नेमा सचेत छु।'

लकडाउन हुनभन्दा अघिसम्म उनी राम्रो फर्ममा थिए। उत्कृष्ट लयमा पनि। लकडाउनले कतै उनको लय बिगार्ला कि भन्ने चिन्ता छ उनमा।

'एउटा लयमा गइरहिएको हुन्छ। ममात्र होइन हरेक खेलाडी,' उनले भने, 'त्यसमा ग्याप भइदियो भने समस्या त पक्कै हुन्छ।'

तर, कोरोनापछि पुनारागमन राम्रै गरिएला भन्ने आत्मविश्वास पनि उनमा छ। 'साह्रै धेरै ठूलो समस्या पर्ला भन्ने लागेको छैन,' उनले भने।

उनी लकडाउन अघि नै उपत्यका बाहिर गए पनि उनका साथीहरु भने अझै उपत्यकामै छन्।

+++

हरेक खेलाडीको एउटा सपना हुन्छ : राष्ट्रका लागि खेल्ने। र, आफूलाई प्रमाणित गर्दै राष्ट्रलाई योगदान दिने। लामाको सपना उही छ। यसअघि पनि उनी राष्ट्रिय टिममा त परिसकेका छन्। तर, एउटा छाप छोड्ने अवसरको खोजीमा छन् उनी।

शहीद स्मारक ए डिभिजन लिगमा उनले गरेको प्रदर्शनले त्यही बाटो खोलेको छ उनलाई। लिगपछि प्रशिक्षक योहान कालिनले खेलाडीहरुलाई क्याम्पमा बोलाउँदा लामा पनि समेटिए। यसलाई उनी आफ्नो लागि स्वर्ण अवसरको रुपमा परिभाषित गर्छन्।

'राष्ट्रिय टिममा फर्कनका लागि मेरो अहिले गोल्डन चान्स हो। लिगमा राम्रो प्रदर्शन गर्न सकेँ र मलाई एकपटक फेरि राष्ट्रिय टिममा बोलाउनु भएको छ,' उनले गम्भीर हुँदै सुनाए, 'अब यसको लागि अझ धेरै मेहेनत गर्नु छ।'

लिगमा गरेका ९ गोललाई अहिले खेल नभएको समयमा सम्झन्छन् उनी।

'लिगको ९ गोल मेरा लागि बेस्ट मोमेन्ट हुन्। हरेको स्ट्राइकरको एउटा इच्छा हुन्छ, आफूले धेरै गोल हानेर उत्कृष्ट प्रदर्शन गर्ने,' उत्साहित हुँदै लामाले भने, 'ती गोलहरु चाहिँ म एकदमै धेरै मिस गर्छु, विशेषगरी अहिले खेल्न नपाइरहेको अवस्थामा।'

+++

खेलाडी सँगसँगै सुरक्षाकर्मी हुनुमा उनलाई गर्व छ।

'मलाई खेलाडी र देशको सुरक्षाकर्मी हुँदा गर्व लाग्छ। प्लेयर हुनुमा गर्व त छँदैछ। खेलाडी बन्नु च्यालेन्जिङ छ,' उनले भने, 'खेल खेल्दा प्राउड फिल गर्छु। त्यसमा पनि सशस्त्र प्रहरीमा छु। आफ्नो विभागको ड्युटीको छुट्टै र एउटा फुटबल खेल्दाको छुट्टै गौरव लाग्छ।'

दुवै तरिकाबाट देशका लागि सेवा गर्न पाउनुलाई उनी गौरव ठान्छन्। 'आफ्नो देशप्रति फुटबल खेलेर या ड्युटी गरेर आफ्नो देशका लागि सेवा गर्न पाउँदा गौरव लाग्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell