
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता दिनानाथ शर्माले नीति तथा कार्यक्रमको सम्पूर्ण बुँदा पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षीको संशोधन प्रस्तावप्रति फिर्ता लिन आग्रह गरेका छन्।
आजको राष्ट्रिय सभा बैठकमा बोल्दै नीति तथा कार्यक्रम पुनर्लेखन गर्ने भन्ने कुरा फिर्ता लिन अनुरोध गरेका हुन्।
प्रतिपक्षीले नीति तथा कार्यक्रमको गुणलाई निषेधको राजनीति गरेको आरोप लगाउँदै उनले जिम्मेवारी दलले विचार गरेर फिर्ता लिए लोकतान्त्रिक मूल्य मान्यताको अनुकूल हुने बताए।
नीति तथा कार्यक्रममा बोल्ने क्रममा प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले यसलाई पुनर्लेखन गर्नुपर्ने सुझाव दिएका थिए।
नीति तथा कार्यक्रम राष्ट्रिय हितको पक्षमा आएको उनले जिकिर गरे।
सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेर राष्ट्रियताको विषयमा बोलेको कुराको जवाफ दिएको बताए। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको अतिक्रमित भूमि समेटर नयाँ नक्सा स्वीकृत गरेको छ।
नक्सा जारी गरेर सरकारले घोषित कार्यक्रम अघि बढाउन थालेको पनि बताए।
शर्माले नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद पनि दिए। नीति कार्यक्रमले जनाता र लोकतन्त्रको पक्षमा रहेको उनको भनाइ थियो। नीति कार्यक्रम जारी गर्न समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूर्णता दिन आएको पनि बताए। शर्माले नीति कार्यक्रमको प्राथमिकतामा कोरोना भाइरस राखिएको दावी पनि गरे।
अब आर्थिक संकट आउने बताउँदै उनले जनताको जीवन रक्षा गर्न सक्ने गरी कार्यक्रम आएको उनको जिकिर थियो। सरकारले कोरोना भाइरसका विषयमा गरेका प्रयास अन्तर्राष्ट्रियस्तरबाटै प्रशंसा भइरहेको भन्दै यहाँ आलोचना र विरोध गरिएको बताए।