PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

क्षमताभन्दा धेरै मानिस क्वारेन्टाइनमा, आइसोलेसन वार्ड पनि अस्पतालमा अपुग



विधुर ढकाल

क्षमताभन्दा धेरै मानिस क्वारेन्टाइनमा, आइसोलेसन वार्ड पनि अस्पतालमा अपुग

काठमाडौं : कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमण प्रदेश नम्बर ५ मा छ। सोमवार राती ८ बजेसम्मको रिपोर्टअनुसार प्रदेशमा हालसम्म १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।

सोमवार एकै दिन नेपालमा ८० जनामा कोरोना भाइरसको संक्रमित थपिँदा प्रदेश ५ मा ६० जनामा संक्रमण पुष्टि भयो। संक्रमितमध्ये ५९ जना बाँके जिल्लाका मात्र रहेका छन्।

त्यस्तै, रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक ४१ वर्षीयमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो। यससँगै प्रदेशमा संक्रमितहरुको संख्या १७१ पुगेको हो।

हालसम्म सबैभन्दा बढी बाँकेमा संक्रमितको संख्या ९३ पुगेको छ। त्यस्तै कपिलवस्तुमा ४३, रुपन्देहीमा २७, दाङमा ४, बर्दियाका दुई तथा नवलपरासी बर्दघाट सुस्ता पश्चिम र गुल्मीका एक/एक जना संक्रमित देखिएका छन्।

संक्रमण पुष्टि भएकामध्ये ४ जना प्रदेश बाहिर संक्रमण पुष्टि भएका हुन्। उनीहरु हाल काठमाडौंमा रहेका छन्। दाङका दुई कपिलवस्तु र बर्दियाका एक-एक जनामा कोरोना पुष्टि भए पनि उनीहरु काठमाडौंमा छन्।

सोमवार दिउँसो बाँकेमा ४७ र गुल्मीका एक जना (रुपन्देहीमा उपचाररत)मा संक्रमण पुष्टि भएको थियो। सोमवार राती नै बाँकेका थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमितमध्ये बाँकेमा एक जनाको युवाको मृत्यु भइसकेको छ।

प्रदेश ५ मा हालसम्म ६ हजार दुई सय ९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा प्राप्त नतिजा पाँच हजार २९ को नतिजा प्राप्त भएको छ। जसअनुसार चार हजार ८ सय ६२ नेगेटिभ र एक सय ७१ पोजेटिभ केस पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अझै एक हजार एक सय ९० जनाको नतिजा आउन अझै बाँकी छ।

प्रदेशमा कोरोना संक्रमितकै उपचारका लागि बनाइएका चार वटा अस्पतालहरु अहिले भरिएका छन्। यी चार अस्पतालमा एक सय ८४ शैय्याको क्षमता भए पनि सबै बेड पूर्ण रुपमा सञ्चालनमा आइनसकेको प्रदेशका स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल श्रेष्ठले जानकारी दिए।

'हामीले एक सय ८१ बेड क्षमता पुर्‍याउने भनेका हौँ। त्यसको तयारी पनि हो तर सबै बेड सञ्चालनमा छैनन्,' उनले भने, ' अहिले यी अस्पतालमा एक सय बेड सञ्चालनमा छन्। जसमध्ये बुटवल धागो कारखानामा ३७ वेड छन्। जसमध्ये एक जना डिस्चार्ज पछि ३६ जना संक्रमित छन्। दाङको आयुर्वेद कलेज अस्पतालमा १२, भैरहवाको भीम अस्पतालमा २१ र बाँकेको सुशील कोइराला प्रखर अस्पताल खजुरामा २६ जनाको उपचार भइरहेको छ।'

यी आइसोलेसन अस्पतालहरुको बेड क्षमता बढाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

'हामीले यी सबै अस्पताललाई पूर्ण बेड क्षमतामा चलाउने र सम्भव भए बेड संख्या बढाउने विषयमा तयारी गरिरहेका छौं,' प्रवक्ता चौधरीले भने, 'धागो कारखानालाई १०० बेड क्षमताको बनाउने विषयमा पनि छलफल चलिरहेको छ। हाल यसको क्षमता ५० हो ३६ सञ्चालनमा छ।'

बाँकी संक्रमितहरुको सम्बन्धित जिल्लामा नै व्यवस्थापन गरिएको उनले जानकारी दिए। कपिलवस्तुका एक संक्रमित कपिलवस्तु अस्पताल र कृष्णनगरका चार जना संक्रमित सुरक्षाकर्मीसहितलाई सोही स्थानमा होटलमा आइसोलेसनमा राखिएको उनले जानकारी दिए।

प्रदेशमा सबै जिल्लामा रहेका साधरण अस्पतालहरुमा समेत आइसोलेसन बेडसहितको सुविधा तयार गरिएको उनले जानकारी दिए। प्रदेशभर ४८ वटा अस्पतालमा तीन सय ३६ आइसोलेसन बेड रहेकोमा ती अस्पतालमध्ये केही अस्पतालमा २१ जना कोमिड-१९ का संक्रमित राखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

सकभर साधारण अस्पतालमा कोभिड-१९ का संक्रमित नराख्ने भन्ने हो।

हालसम्म प्रदेशभरी पाँच सय ५६ जना कोभिड-१९ का शंकास्पद विरामीको उपचार भइरहेकोमा अझै २१ जना उपचारमै रहेको निर्देशनालयको तथ्यांकमा छ।

कपिलवस्तुमा सबैभन्दा बढी क्वारेन्टाइनमा

प्रदेश ५ को सोमवार राती ८ बजेसम्मको तथ्यांक अनुसार प्रदेशभर १४ हजार दुई सय ८१ जनालाई क्वारेन्टाइनमा राखिएको छ। प्रदेशका १२ जिल्लामा २३ हजार पाँच सय ९५ जना क्षमताका ७१० वटा क्वारेन्टाइन चलेका छन्।

सबैभन्दा बढी कपिलवस्तु जिल्लामा ८ हजार सात सय ८५ जना क्षमता १८५ वटा क्वारेन्टाइन चलेकोमा यी क्वारेन्टाइनमा सात हजार चार सय ५६ जना रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

उता बाँकेमा भने क्षमता धेरैलाई क्वारेन्टाइनमा राखिएको छ। बाँकेमा ९ वटा क्वारेन्टाइनमा एक हजार १५ क्षमता भए पनि यहाँ एक हजार एक सय ९१ जनालाई क्वारेन्टाइनमा राखिएको तथ्यांकमा उल्लेख छ।

त्यस्तै नवलपरासीमा पनि क्षमता भन्दा बढी ब्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। यहाँ १३ वटा क्वारेन्टाइनमा पाँच सय ७१ क्षमता भए पनि ६५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

सबैभन्दा कम रुकुम पूर्वमा ३१ र पाल्पामा ३५ जनालाई क्वारेन्टाइनमा राखिएको तथ्यांकमा उल्लेख छ।

यी क्वारेन्टाइनमा रहेका तीन सय ८६ जनाको सोमवार मात्र स्वाब संकलन गरिएको निर्देशनालयले जनाएको छ। त्यस्तै यहाँका क्वारेन्टाइनमा रहेका दुई सय २१ जनाको सोमवार नै आरडीटी एन्टिबडी परीक्षण गरिएको थियो।

हालसम्म प्रदेशमा ९ हजार तीन सय ५३ जनाको आरडीटी परीक्षण भएकोमा ३३ जनाको पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ।

बाँकेका संक्रमितको व्यवस्थापनमा समस्या

बाँके जिल्लामा सोमवार मात्र ५९ जनामा संक्रमित पुष्टि भयो। जिल्लामा रहेको कोरोना विशेष अस्पतालका आइसोलेसन वार्ड भरिएपछि उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ।

'संक्रमितलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,' बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, 'हामी छलफलमै छौं।'

सोमवार संक्रमण पुष्टि भएका अधिकांश बाँकेको नरैनापुर गाउँपालिकाका हुन्। यही गाउँपालिकाको दीपेन्द्र प्राविमा रहेका व्यक्तिको क्वारेन्टाइनमा आइतवार निधन भएको थियो।

जिल्लाका आइसोलेसन वार्ड भरिएपछि संक्रमितहरु अझै पनि क्वारेन्टाइनमै छन्।

बाँकेको राप्तीपारी नरैनापुर ५ स्थित इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिले संक्रमितहरुलाई क्वारेन्टाइनमै अलग राखिएको छ।

नेपाल राष्ट्रिय कृष्ण प्रावि हुलासपुरवामा १२ जना संक्रमित छन्। यहाँ संक्रमितसहित कुल ७२ जना क्वारेन्टाइनमा छन्। जयकिसान मावि भोजपुरमा १४ जना संक्रमित छन्। यहाँ कुल ६० जना बसेका छन्।

दीपेन्द्र प्रावि भगवानपुरमा १७ जना संक्रमित छन् भने कुल ३८ जना क्वारेन्टाइनमा छन्। आदर्श मावि लक्ष्मणपुरमा जना ४ जना संक्रमित छन् भने कुल ८१ जना क्वारेन्टाइनमा बसिरहेका छन्।

स्थानीयहरुले संक्रमितलाई बाहिर लैजाने नभइ धेरै संख्यामा रहेकोले सोही स्थानमा आइसोलेसनमा राख्न माग गरेपछि पनि व्यवस्थापन गर्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले बताए।

उनीहरुलाई लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसनका रुपमा विकास गर्ने निर्णय भएको थियो। तर, त्यहाँ पनि स्थानीयले विरोध भएपछि आइसोलेसन बन्न सकेको छैन।

यसैबीच संक्रमितका परिवारले उनीहरुलाई लक्ष्मणपुर नपठाउने भन्दै विरोध सुरु गरेका छन्। क्वारेन्टाइन अगाडि भेला भएर परिवारका सदस्यहरु संक्रमितलाई घर लैजाने भन्ने माग गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell