PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विश्व स्वास्थ्य महासभामा स्वास्थ्यमन्त्रीले भने : नेपालका आउँदा दिनहरू थप चुनौतीपूर्ण



पहिलोपोस्ट

विश्व स्वास्थ्य महासभामा स्वास्थ्यमन्त्रीले भने : नेपालका आउँदा दिनहरू थप चुनौतीपूर्ण

काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको महामारीले नेपालका आउँदा दिनहरु थप चुनौतीपूर्ण हुने बताएका छन्।

७३ औं विश्व स्वास्थ्य महासभालाई भर्चुअल सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ढकालले कोभिडबाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको र संक्रमितको संख्या केही दिनयता बढ्दो क्रममा रहेकाले आउँदा दिनहरू थप चुनौतीपुर्ण हुनसक्ने उल्लेख गरेका हुन्।

ढकालले नेपालले महामारीको सुरूवातदेखि नै उच्च राजनैतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत कोरोनाविपदको प्रतिकार्य गर्दै आएको जानकारी गराए। कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय रहेको उनको भनाई थियो।

स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको भन्दै मन्त्री ढकालले महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीहरूको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको बताए। ‘त्यसैले हाम्रा समग्र प्रयासहरूलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु,’ मन्त्री ढकालले भने।

कोभिड नियन्त्रणमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूको भूमिका सराहनीय रहेको र विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको बताउँदै मन्त्री ढकालले सर्वव्यापी स्वास्थ्य सुरक्षाको लागि सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आजको आवश्यकता भएकोमा जोड दिए।

मन्त्री ढकालले कोरोनाविरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै महामारीका चुनौतीलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदायसमक्ष अनुरोध पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell