PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

जम्मूमा ७२ दिनदेखि फसेका नेपाली भन्छन्: ‘खानाले मात्र पेट भर्दैन मोदीजी, घर पठाइदेउ’



राधेश्याम पटेल

जम्मूमा ७२ दिनदेखि फसेका नेपाली भन्छन्: ‘खानाले मात्र पेट भर्दैन मोदीजी, घर पठाइदेउ’

वीरगंज : भारतको जम्मू काश्मिरको कटरामा फसेका नेपालीहरुले भारतीय प्रधानमन्त्रीसँग घर पुर्‍याई दिन हारगुहार गरेका छन्।

उनीहरुले करिब ७२ दिनदेखि सो स्थानमा फसेको र शुरुको १४ दिनको क्वारेन्टाइनपछि पीसीआर परीक्षण गराए पनि घर आउन नपाएको गुनासो गरेका छन्। शुरुमा ६० जना कटराको टुरिष्ट विभाग सेन्टरको क्वारेन्टाइनमा फसेका थिए।

त्यसमध्ये रुपन्देहीका र अन्य भारतको विभिन्न राज्यका गरी ३३ जना आफ्नो घर फर्किसकेका छन्। तर, त्यसमध्येका २७ जना बालबालिका, वृद्धवृद्धा अझै कटरामा फसेको वीरगंज ७ रामटोलका अवधेश मिश्राले जानकारी दिए। उनका अनुसार २७ जनामा १६ जना भारतीय विहार र उत्तर प्रदेशका नागरिक पनि छन्।

वीरगंजका ११ जनामध्ये रामटोलका, मिथलानगर र श्रीपुर बासिन्दा फर्किन नसकेको बताइएको छ। वीरगंजकी ३८ वर्षिया निलम कण भन्छिन्, ‘हाम्रो समस्या कसैले सुनेको छैन, मात्र दुई छाकको खानाले मात्र पेट भर्दैन मोदीजी, घरमा वृद्धवृद्धा सासुससुरा छन्, हामी अभिभावकहरु यहाँ फसेका छौ, घर फकाईदिनुस्।’

उनीहरुले ७ दिनको खर्चपानी मात्र लिएर गएको तर अब आफूहरुसंग पैसा पनि सकिएकोले बिस्कुट किनेर खान पनि नपाएको अर्का वीरगंजवासी राजेश तिवारीले सुनाए। जम्मूमा फसेका अवधेश मिश्राका छोरा ओमप्रकाश मिश्रले वीरगजका मेयर विजय सरावगीले इमेलद्वारा पठाएको पत्रको जवाफ पनि हालसम्म नआएको बताए।

उनले भारतको दिल्लीस्थित नेपाली दूतावास पनि ती नेपालीको घर फिर्तीको बारेमा बेखबर रहेको र सहयोग नगरेको अरोप लगाएका छन्। वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका कन्सुलर कोट्रा स्वामीले भारतमा फसेका नेपालीको लागि नेपाली दूतावासले पहल गरे उनीहरु रेलबाट पटना सम्म आउनसक्ने प्रतिक्रिया दिए। ‘नेपालमा फसेका भारतीयलाई हामीले यहाँबाट भारत फर्काउन लागि परिरहेका छौं, यस विषयमा हामीले केही पहल गर्न मिल्दैन, नेपाल सरकारले र दूतावासले भारतीय अधिकारीसंग पहल गर्नु वेश होला,’ उनले सुझाव दिँदै भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell