
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा दोषी देखिए कारवाही गरिने बताएका छन्।
मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दोषी देखिए कारवाही गरिने बताएका हुन्। उनले आफूले ओम्नी भन्ने संस्थाबारे पहिले आफू जानकार नरहेको पनि बताए।
उनले भने, 'ओम्नी भनेको मैले सुनेको पनि थिइन। कसको के हो थाहा पनि थिएन। कारोवार मेरो विषय होइन्। मेरो विषय राजनीति हो। म व्यापार व्यवसायमा रुची पनि राख्दिन। म कुनै डिल पनि गर्दिन। मेरो सरोकारको विषय पनि भएन।'
उनले विशेष अवस्थामा खरिद प्रक्रियाबारे स्वास्थ्य विभागको महानिर्देशकले गर्ने काम भएकाले आफूलाई सम्झौताको विषयमा जानकारी नभएको पनि बताए।
उनले स्वास्थ्य सामग्री खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको भए दोषीहरूमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाए। ओलीले ओम्नीको बचाउ गर्दै रिस उठेकाहरुलाई लगेर भ्रष्टाचारमा जोडिएको बताए। 'भ्रष्टाचार गर्छ भने हामी छोड्दैनौं,’ उनले भने।
जटिल अवस्थामा स्वास्थ्य सामग्री ल्याउनु परेको अवस्थामा छिटोछरितो उपाय अपनाइएको ओलीले बताए। 'पछि भनेका सामान, भनेको अवधिमा आएन भनेर उनै डिजीले रद्द गरेको देखियो। त्यस सम्बन्धी दोषी पाइयो भने कारवाही हुन्छ। नभए हुँदैन।’
ओलीले सबैले बाँडेर खाए भन्ने कुरा विचित्र भएको पनि बताए।