
काठमाडौं : सरकारले काठमाडौंका विभिन्न ठाँउमा नमुना संकलन गरेर आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस संक्रमणको परीक्षण गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले काठमाडौंका गंगबु, भृकुटी मण्डप तथा कालीमाटी क्षेत्रमा परीक्षण गरेको बताएका छन्।
कालीमाटीमा ७ सय जनाको आरडीटी गरिएकोमा ३ जनाको पोजेटिभ आएको उनले बताए। कालीमाटीका ३ सय ३४ जनाको पीसीआर गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा परीक्षण गरिएको हो।
सरसफाइसँग सम्बन्धित विभिन्न ठाँउमा गरिएको ६ सय ६४ को आरडीटीमा ३१ को पोजेटिभ आएको छ। २ सय ६७ सरसफाई कर्मचारीको पीसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको देवकोटाले जानकारी दिए।
गंगबु क्षेत्रका ४ सय २० जनाको आरडीटी गरिएकोमा १५ जनाको नतिजा पोजेटिभ आएको छ। त्यसमध्ये १ सय ७२ को पीसीआर गरिएको थियो। उनीहरुको रिपोर्ट आउन बाँकी छ।
भृकुटी मण्डपका ४ सय ५२ मा आरडीटी गर्दा ३२ जनाको पोजेटिभ आएको छ। त्यसक्षेत्रका २ सय ४६ को पीसीआर गरिएकोमा रिपोर्ट आउन बाँकी छ।
काठमाडौंभित्र १ हजार १९ जनाको पीसीआर र २ हजार २ सय ३६ जनाको आरडीटी गरिएको थियो।