PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतप्रति आक्रामक प्रधानमन्त्री! संसदमा कोरोना पनि भारतको कडा भएको भन्न भ्याए : अतिक्रमित भूमि ल्याएरै छाड्नेदेखि ओम्नीको बचाउसम्म



कुञ्जरमणि भट्टराई

भारतप्रति आक्रामक प्रधानमन्त्री! संसदमा कोरोना पनि भारतको कडा भएको भन्न भ्याए : अतिक्रमित भूमि ल्याएरै छाड्नेदेखि ओम्नीको बचाउसम्म

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नका आज संसदलाई जवाफ दिए। विश्वमा फैलिरहेको कोभिड-१९ महामारीबाट सम्बोधन शुरु गरेका प्रधामन्त्री ओलीले संसदमा झण्डै ३ घण्टा खर्चिए।

ओलीले सम्बोधनका क्रममा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रतिप्रद्धतादेखि स्वास्थ्य सामग्री खरिद प्रकरणमा जोडिएको ओम्नी ग्रुपको बचाउन सम्म गर्न भ्याए। ओली चीनको वुहानबाट आएको कोरोना भाइरस नरम रहेको र भारतबाट आएको भाइरस कडा रहको समेत बताए।

बोल्दा बोल्दै भने - गाह्रो भयो

प्रधानमन्त्री ओलीले  कोरोना भाइरसको विषयमा झण्डै २० मिनेट बोलेपछि आफूलाई उभिन गाह्रो भएको भन्दै बस्ने व्यवस्था मिलाइदिन आग्रह गरे सभामुख अग्निप्रसाद सापकोटालाई।

‘सभामुख महोदय, मलाई स्वास्थ्यको कारणले उभिएर बोल्न गाह्रो भयो,’उनले भने।

प्रधानमन्त्रीको आग्रहसँगै सभामुख सापकोटाले बस्ने व्यवस्था मिलाउन महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिए।

उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए। सभामुखको निर्देशनलगत्तै सुरक्षाकर्मीले कुर्सी व्यवस्थापन गरेका थिए। ओलीले अस्वस्थताको बीच सम्बोधनलाई निरन्तरता दिए।

कोरोना भारतको कडा  

प्रधानमन्त्री ओलीले कोरोना भारतबाट आएको कोरोना संक्रमण अन्य मुलकसँग तुलनामा कडा भएको बताए। उनले वुहान, इटली, दुबईबाट आएको भाइरस नरम देखिएको उल्लेख गर्दै भने, 'तर भारतबाट आएको कडा देखिएको छ।'

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकारे।

ओलीले सीमामा आएका नेपालीहरुको चाप र जनप्रतिनिधिको दबावले पनि कोरोना भयावह हुने खतरा देखिएको तर्क गर्न भ्याए।

'हामी पनि कोरोनामुक्त देश घोषणा गर्ने अवस्थामा थियौँ। तर, बाहिरबाट आउनेलाई रोक्न सकिएन। जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमा आएर बस्नेका कारण रोक्न सकिएन। यसले अलि भयावह अवस्थामा जान पर्ने हो कि भन्ने देखिएको छ।'

रावललाई जवाफ ट्रान्मिसन लाइन जस्केलाबाट होइन् मूल ढोकाबाटै बन्छ  

प्रधानमन्त्री ओलीले रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइनको विषयमा पार्टीका सांसद भीम रावलले गरेको प्रश्नको जवाफ दिए।

सोमवार संसदमा रावलले नीति तथा कार्यक्रममा एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजिएको आरोप लगाएका थिए।

प्रम ओलीले रावलको जवाफ दिँदै भने, 'प्रसारण लाइन पछाडिको बाटोबाट हैन। मूल बाटोबाटै बन्छ। जस्केलाबाट होइन, अगाडिको बाटोबाट बन्छ। एमसीसीले नबनाए अर्कोले बनाउँछ। कसैले नबनाए हाम्रै पैसाले बनाउँछौँ।'

नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी रातमाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली-बुटवल ४ सय केभी प्रसारण लाइनअघि बढाइने उल्लेख छ।

सरकार र एमसीसीबीच भएको सम्झौता जस्ताको तस्तै उल्लेख गरिएको भन्दै रावलले संसद बैठकमा आपत्ति जनाएका थिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले र रावलले सोही विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्दै पत्र पनि लेखेका थिए। ओलीले एमसीसी पास गर्नुपर्छ भनेर नीति तथा कार्यक्रममा उल्‍लेख नगरिएको र पास गर्ने नगर्ने निर्णय संसदमा नै गर्ने बताए।

अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने दृढता,  सत्यमेव जयते कि सिंहमेव जयते?

प्रधानमन्त्री ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरे।

उनले कोही रिसाउँछ की भनेर अतिक्रमित भूमि फिर्ता ल्याउन पछि नहट्ने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेकको विषयलाई अब सेलाउन नदिने बताए। ओलीले कुटनीतिक वार्ताको माध्यमबाट फिर्ता गर्ने उनको दावी थियो।

नेपालको भूमि भारतले अकुपाइ गरेर विवास्पद बनाएको उनको भनाइ थियो। तथाकथित् राष्ट्रवादका लागि नक्सा तयार नगरिएको उनको दावी थियो।

'तमासा गरिएको होइन्, देखावटी गरिएको होइन् हाम्रो फिर्ता गर्छौं,' उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको स्वाभिमानमाथि निम्छरा शब्द प्रयोग नगर्न पनि चेतावनी दिए। यो सरकार नेपाली जनताले बनाएको भएकाले कुनै देशको आशीर्वादबाट बनेको, टिक्ने, ढल्ने, ढालिने कल्पना नगर्न चेतावनी दिन भ्याए ओलीले।

भने, ‘हामी कहिलेकहिले सुन्ने गर्छौं, जानैजानै लागेको थियो फलानो देशको राजदूतले भूमिका खेलेर फेरि आयो। अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचन कुनै पनि देशले नबोले हुन्छ।'

उनले भारतको प्रतीक चिह्नमाथि टिप्पणी गर्दै भारत सत्यमेव जयते कि सिंहमेव जयते? भन्दै प्रश्न पनि गरे। उनले आफुहरू सत्यमेव जयतेको पक्षमा भएको पनि बताए।

'भारतको एउटा प्रतीक चिह्न छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चारमुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ। त्यसको मुनि सत्यमेव जयते लेखेको हुन्छ। म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते?'  प्रमले भने ।

ओम्नी त सुनेकै थिइनँ

प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रण गर्न पुराना केसहरुमा छानविन गरिएको बताए। उनले आफ्नो सरकार आएपछि सुन तस्करी गर्ने प्वालहरु टालिएको उल्लेख गर्दै ३३ किलो सुन काण्डका दोषीहरुलाई कार्बाहीको दायरामा ल्याएको बताए।

त्यस्तै प्रधानमन्त्रीले ओलीले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भष्ट्राचार गरेको आरोप लगाएको ओम्नी ग्रुपको बचाउ गर्न भ्याए। कोरोना भाइरस संक्रमणपछि स्वास्थ्य सामाग्री खरिदको जिम्मा लिएको कम्पनी ओम्नीसँगको सम्झौता केही समयपछि रद्द गरिएको थियो।

ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा दोषी देखिए कारवाही गरिने बताएका छन्। उनले ओम्नी आफू जानकार नरहेको पनि दाबी गरे। प्रधानमन्त्री ओली समय समयमा चर्चामा रहेको विषय आफूलाई जानकारी नरहेको बताउँदै आएका छन्। आज पनि उनले ओम्नीबारे अनविज्ञता प्रकट गरे।

उनले भने, 'ओम्नी भनेको मैले सुनेको पनि थिइन। कसको के हो थाहा पनि थिएन। कारोवार मेरो विषय होइन्। मेरो विषय राजनीति हो। म व्यापार व्यवसायमा रुचि पनि राख्दिन। म कुनै डिल पनि गर्दिन। मेरो सरोकारको विषय पनि भएन।'

उनले विशेष अवस्थामा खरिद प्रक्रियाबारे स्वास्थ्य विभागको महानिर्देशकले गर्ने काम भएकाले आफूलाई सम्झौताको विषयमा जानकारी नभएको पनि बताए।

उनले स्वास्थ्य सामग्री खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको भए दोषीहरूमाथि कडा कारबाही हुने प्रतिबद्धता जनाए।

ओलीले ओम्नीसँगको सम्झौता रद्द भएको विषयमा स्पष्टिकरण दिँदै भने 'पछि भनेका सामान, भनेको अवधिमा आएन भनेर उनै डिजीले रद्द गरेको देखियो। त्यस सम्बन्धी दोषी पाइयो भने कारवाही हुन्छ। नभए हुँदैन।’

विदेशबाट ह्वारह्वार्ती मान्छे ल्याएर देश सोत्तर बनाइदैन

प्रधानमन्त्री ओलीले विदेशमा अलपत्र परेका नेपालीहरुलाई देश ल्याउने तयारी भइरहेको जानकारी दिए। तर, विभिन्न देशका प्रतिनिधिहरुसँग आफूले कुरा गरेको बताउँदै ओलीले कतिपय देशका प्रतिनिधिले आफूलाई उतै सुरक्षित रुपमा राख्खे भन्दै आश्वस्त पारेको पनि सुनाए।

प्रधानमन्त्री ओलीले विदेशमा रहेकाहरुलाई फर्काउनु कतारले १०० जना मानिस फर्काएको जस्तो नभएको बताए।

भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार लाख ल्याउनु एउटै होइन ।’

उनले भद्रगोल हुने गरी मानिसहरुलाई नफर्काउने बताए। भन्छन्, 'मान्छे ल्याउने सेन्टिमेन्टमा देशमा मा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं।'

प्रधानमन्त्री ओलीले सांसदहरुका केही प्रश्नहरुको जवाफ पनि दिन भ्याए। ओलीले बेलायतमा नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनुअगाडि बेलायती संसदमा ‘इनफ, इनफ’ को नारा लागेको स्मरण गर्दै उनले अहिलेको सरकार जनादेशबाट आएको भन्दै सरकार नछाड्ने जवाफ दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell