PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

लकडाउनको मौका छोपी सक्रिय भए काठ र वन्यजन्तु तस्कर, बन कार्यालयले अपनायो नयाँ रणनीति



पी बी खड्का

लकडाउनको मौका छोपी सक्रिय भए काठ र वन्यजन्तु तस्कर, बन कार्यालयले अपनायो नयाँ रणनीति

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको अवधिमा बन फँडानी र काठ तस्करी बढेको छ। मान्छेको चहलपहल नहुने भएपछि रुख कटान गर्न काठ तस्करहरु सक्रिय बनेका हुन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)मै मुख्य राजमार्गको छेउछाउमा दिनदाहडै रुख कटान भइरहेका छन् भने लुकीछिपी तस्करी गर्ने काम पनि उत्तिकै छ। अरु बेला भन्दा लकडाउनको समयमा रुख कटान र काठ तस्करी बढेको डिभिजन बन कार्यालयको भनाइ छ।

‘घरमा खाली बसिरहेका छन्, मान्छे केही काम हुँदैन अनि बनतिर जाने एक दुई घरमा काम लाग्ने काठ लैजाउँ भन्ने तरिकाले गएकाहरु बनमा भेटिन्छन्’, डिभिजन वन अधिकृत गोविन्द प्रसाद दाहालले भने, ‘अरु समयको भन्दा अहिले लकडाउनको बेला रुख काट्ने र चोरी निकासी बढेको देखिन्छ।’

लकडाउनको अवधिमा काठको अवैध कामसँगै वन्यजन्तु चोरी निकासी पनि बढेको उनले बताए। यो समयमा काठ र वन्यजन्तुको अवैध काममा संलग्न बढेको हुँदा नयाँ रणनीतिका साथ निगरानी बढाएको उनले जनाए।

उनले भने, ‘काठको अवैध कामसँगै वन्यजन्तुको तस्करी पनि उस्तै छ, हामीले पनि नयाँ रणनीति बनाएर टोली परिचालन गरेका छौँ।’

कार्यालयका कर्मचारी जति बेला पायो उतिबेला हिँड्न नपाउँदा पनि तस्करी बढी मौलाएको उनको ठहर छ।

‘यो समयमा अवैध काम हुनु भनेको सबै मान्छे घरमा खाली हुँदा बढेको छ भने अर्काेतर्फ हामीलाई सवारी साधन चलाउन सीमित पास हुने, जति बेला पायो उती बेला हिँड्न नपाइने हुँदा समस्या छ। जसले गर्दा त्यस्ता मान्छेहरुको काम बढी देखिएको हो,’ प्रमुख दाहालले भने।

लकडाउनको समयमा कार्यालयले पाँच सय क्युफिट काठ नियन्त्रणमा लिएको प्रमुख दाहालले जानकारी दिए। अवैध रुपमा रुख कटान गरिरहेका पाँच जनालाई नियन्त्रणमा लिएर मुद्दा चलिरहेको छ भने २० जनालाई सामान्य कारबाहीपछि सम्झाई बुझाई गरेर छोडिएको छ।

बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य चन्द्रप्रसाद थानी लकडाउनको बेला अवैध रुपमा काठ कटान र तस्करी बढेको भन्दै सबै उपभोक्ताहरुले सक्रियता बढाएपनि नियन्त्रण गर्न समस्या भएको बताउँछन्।

‘लकडाउनको मौका छोपेर अवैध काठ काट्ने र चोरी निकासी बढेको देखिन्छ’, उनले भने, ‘सबै उपभोक्ता समितिहरु लागेकै हुनुहुन्छ तर अहिले ग्रामीण भेगतिर अलि सक्रिय भएको पाइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell