PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

खेत बाँझो छाडे जरिबाना तिराउने माडी नगरपालिकाको निर्णय, खेती गर्नेलाई अनुदानको व्यवस्था



रासस

खेत बाँझो छाडे जरिबाना तिराउने माडी नगरपालिकाको निर्णय, खेती गर्नेलाई अनुदानको व्यवस्था

चितवन : माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिबाना गर्ने भएको छ। माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा एक हजार जरिबाना गर्ने जनाएको छ।

कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ। निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने जनाएको छ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताए। कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्था समेत गरेको छ। माछापालनका पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ अनुदानको व्यवस्था गरेको उनले जानकारी दिए।

नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भने, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ।’

साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उनले जग्गा बाँझो रहे कारबाही हुने बताए। उनका अनुसार नगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो।

बिघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारबाही अभियान शुरु गर्न लागेको हो। कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ। माडीमा हाल ४३ हजार ३६५ जनसंख्या रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell