PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डा. सुन्दरमणि दीक्षित भन्छन्, 'सरकार समयमा तयारी नगरेको फल भोग्दैछ, आइसोलेसन हैन जनरल वार्ड नपाउने स्थिति बन्छ'



फूलमाया पुरी

डा. सुन्दरमणि दीक्षित भन्छन्, 'सरकार समयमा तयारी नगरेको फल भोग्दैछ, आइसोलेसन हैन जनरल वार्ड नपाउने स्थिति बन्छ'

जेठ १ गते धुलिखेल अस्पतामा एक सुत्केरी महिलाको मृत्यु भयो। दुई दिनपछि उनको मृत्युको कारण थाहा भयो। कारण कोरोना संक्रमण पुष्टि।

सोमवार बाँकेको क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भयो। स्वाब पहिला नै संकलन भइसकेको थियो तर रिपोर्ट आइसकेको थिएन। समयमै उपचार नपाउँदा उनले पनि ज्यान गुमाए। त्यसपछि आएको रिपोर्टमा उनमा पनि कोरोना पोजेटिभ भएको पुष्टि भयो।

कोरोना संक्रमितको संख्या बढ्दै जानु र कोरोना परीक्षण नभएका व्यक्तिहरुको मृत्युले धेरैलाई भाइरसबारे थप अन्योल सिर्जना गरेको छ। त्यसो त कोरोना संक्रमितको संख्या पत्ता लगाउन पर्याप्त परीक्षण नभएको आरोप समेत लाग्दै आएको छ। नेपालमा कोरोनाको एकमात्रै संक्रमित देखिएर उपचारपछि डिस्चार्ज भइसकेको अवस्थामा समेत परीक्षण नभएकोले संक्रमित नदेखिएको टिप्पणी भएको थियो।

वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितले सार्वजनिक रुपमा नै भनेका थिए,'परीक्षण नै नगरी संक्रमित छैन भनेर कसरी भन्न सकिन्छ? 'उनले परीक्षणको दायरा नबढाएको र नेपालमा खतराको घण्टी बजिसकेको पनि बताएका थिए। 

उनको उक्त भनाइको विरोध गर्नेहरु नि थिए। तर पछिल्लो दिनमा संक्रमितको संख्यामा वृद्धि भएसँगै दीक्षितले सो बेला उठाएका तर्क ठिक भएको भन्ने जमात खडा भएको छ।

हाल संक्रमितको संख्या चार सय पार भइसक्दा र संक्रमणको खतरा बढ्दै गएको बेला डा. दीक्षित सरकारले समयमै उचित योजनासाथ पूर्व तयारी नगरेकाले यस्तो दुखद् परिस्थितिको सिर्जना भएको बताउँछन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ। तर यसको व्यवस्थापन गर्न सरकारले नसकेको भन्दै उनले प्रश्न गरे, 'सरकारले लकडाउन भन्यो हामीले मान्यौँ तर यसबीचमा सरकार किन जोखिमसँग जुध्न तयार भएन? '

दीक्षित सरकारले लकडाउन गर्नुअघि पूर्व तयारी नगरेको र आफ्ना जनताको कहाँ कस्तो अवस्थामा छन् भन्ने पक्षमा सोच्न नसकेकोले अहिले व्यवस्थापनामा समस्या आएको बताउँछन्।

'बिना तयारी सबै परीक्षा स्थगित गर्दै लकडाउनको घोषणा गर्‍यो। जुन सरकारको काँचो निर्णय सावित भयो। लकडाउनअघिको दुई दिन लाखौँ मानिस लाम लागेर निस्किए। बसपार्कमा भीडभाड देखियो। तर सरकारले त्यसतर्फ कति पनि चासो राखेन।' उनले भने।

चैत्र ११ गतेदेखि देशभर लकडाउन सुरु भयो। त्यसको सात दिनपछि शहरमा थुनिएका मानिस पैदल हिँडेरै गाउँको यात्रामा निस्किए। भोकै प्यासै बालबच्चासहित ज्यानको बाजी लगाएर हिँडे उनीहरु। सरकारले सबैलाई जहाँ छौ त्यहीँ नै बस भनेको थियो। यद्यपि यात्रा रोकिएन। त्यस्तै सीमाबाट पनि हजारौँको संख्यामा मानिस नेपाल भित्रिए।

ओली सरकारको हुकुमको प्रमाण बोकेर प्रशासनले पहिला नै ढिला गरेको भन्दै दीक्षितले भने 'खुला सीमाबाट हजारौँ मानिस नेपाल भित्रिए। नाका बन्द गरिएका कारण लुकिछिपी भारतबाट आएका को कहाँ गए थाहा छैन सरकारलाई' उनले भने ।

परीक्षणको दायरा नै कम

सरकारले आरडीटी र पीसीआरबाट कोरोना परीक्षण  गर्दै आएको छ। यद्यपि, आरडीटीमा मात्रै भर पर्ने नहुने जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्। दीक्षित भने नागरिक समाज र नागरिकको चर्को आलोचनापछि परीक्षणको दायरा बढे पनि यो अझै पर्याप्त नभएको बताउँछन्।

'र्‍यापिड टेस्ट मापदण्ड अनुसारको व्यवस्थित थिएन। त्यसैले अहिले पीसीआर गरेका छन् जुन राम्रो हो। तर सीमामा कडाइ भएको छैन। आएकाको परीक्षण भएको छैन। जुन अर्को जोखिम हो' दीक्षितले भने।

पछिल्ला केही दिनभित्रै नेपालमा पनि कोरोनाका संक्रमितहरुको संख्या तीब्र गतिमा बढ्दो छ। यसो हुनुमा दुई मुख्य कारण देख्छन् उनी।

पहिलो, कोरोना संक्रमणको माहामारीलाई सरकारले पहिले हल्का रुपमा लिनु र आफ्नो दायित्व पूरा गर्ने प्रयास नगर्नू।

'अनावश्यक आरडीटी परीक्षणमा सरकारले समय र अर्थ खर्चियो। सरकारले पीसीआर विधिबाट गरिने परीक्षणलाई व्यवस्थित र उल्लेखनीय संख्यामा बढाउन सकेको छैन। यसले थप समस्या सिर्जना गर्नसक्छ' उनले भने

दोस्रो, लुकिछिपी रातारात मान्छे भारतबाट नेपाल भित्रिरहेका छन्। नाकामा सुरक्षा स्थिति कमजोर देखिएको भन्दै उनले काठमाडौँसँगै मुलुक नै समस्यामा पर्न सक्ने उनले बताए।

'सरकारले लकडाउन भनेको छ। त्यो भनेको के हो? जनताले त्यसलाई कसरी बुझेका छन्? यो सरकारले त्यसप्रति खै चासो राखेको?' उनले प्रश्न गरे।

अनावश्यक रुपमा मान्छे ओसारपसार गरेपछि गाउँगाउँमा पनि संक्रमणको जोखिम रहेको उनी बताउँछन्।

अहिले अधिकांश संक्रमित युवा छन्। जो मजदुरी गर्न गएका हुन्। धेरैजसो सीमामा लुकिछिपी नेपाल प्रवेश गर्नेहरु छन्।

संक्रमणको खतरा बढ्दै गएको अवस्थामा त्यसको नियन्त्रण गर्न सरकारले अहिले पनि कुनै गतिलो नीति र योजना बनाउन नसकेको दीक्षितको टिप्पणी छ।

सरकारले राजनीतिक भावनामा बगेर गरेको निर्णयले जनता खुसी नहुने भन्दै उनले भने, 'पोलिटिकल इमोशनल निर्णयले जनतालाई खुसी बनाउन खोज्ने सरकारको दाउ देखिन्छ। तर भोको पेटमा राजनीति बुझ्दैनन् जनताले। उनीहरुले खान पाएका छैनन्। आफ्नो घर जान पाएका छैनन्। स्वास्थ्य समस्या हुँदा उपचार पाएका छैनन् त कसरी खुसी हुन्छन जनता'?

दीक्षित अनावश्यक लकडाउनको विपक्षमा छन्। तर सरकार र जनताले दुवैले आफ्नो दायित्वका विषयमा सचेत हुनुपर्ने बताउँछन्।

उनी थप्छन्, 'लकडाउनमा लाठीमात्र देखाएर जनतालाई त्रासपूर्ण अवस्थामा राखेर के गर्न खोजिरहेको छ सरकारले? सधैं लकडाउन गर्नुमात्रै समाधान होइन। सरकारले कोरोना फैलन नदिन ठोस योजनासाथ परीक्षणको दायरा बढाउनु बाहेको विकल्प छैन।'

सीमामा रोकिएका नेपालीहरुलाई नाकामै परीक्षण गरेर सतर्कताका साथ भित्र्याइनुपर्ने उनको भनाइ छ।

'सीमामा अलपत्र परेकाहरुलाई माया गर्नुपर्छ। तर बुद्धिले काम लिनुपर्छ भावनाले मात्र होइन' उनले भने।

लकडाउनको मोडालिटीलाई परिवर्तन गर्दै उच्च जोखिम क्षेत्रलाई केन्द्रित गरेर योजना बनाउनुपर्ने उनको मत छ। नागरिक समाज र विशेषज्ञहरुले बारम्बार झक्झक्याउँदा पनि सरकार नतातेकाले अहिलको विकराल स्थिति निम्तिएको उनको तर्क छ।

'यदि हामीले पहिले नै कराउँदा सरकार तातेको भए जोखिम कम गर्न सकिने थियो' उनले भने।

सुरुवाती चरणमै कमजोर व्यवस्थापन देखिएकाले आइसोलेसन वार्ड त परैको कुरा अब कोरोना संक्रमितलाई जनरल वार्डमा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ। यसो हुँदा अन्य बिरामीले उपचार पाउन नसकेको उनले बताए।

'अब सामान्य उपचारसम्म नपाएर मानिसको मृत्यु हुनसक्छ। त्यस्तो स्थिति आउन नदिनका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ' उनको सुझाव थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell