काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंगलवार पछिल्लो पटक २७ जना कोरोन संक्रमित भएको पुष्टि गर्यो। १ जना लमजुङमा पनि संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकरी दियो। लमजुङमा पनि संक्रमण देखिएपछि लमजुङबासी त्रासित बने। किनकि लमजुङमा यसअघि कोरोना संक्रमणका विरामी देखिएका थिएनन्। यो उनीहरुका लागि नयाँ केस थियो।
मन्त्रालयले संक्रमित हुनेको जिल्ला तय गरे पनि शंका गर्ने आधार भने प्रस्तत थियो। लमजुङबाट ६१ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाइएको थियो। सायद्, त्यही रिपोर्ट आयो होला भन्ने ठाने धेरैले।
'त्यही ६१ जनामा कसैमा देखिएको हो कि भन्ने लागेको थियो। तर त्यस्तो होइन रहेछ,' जिल्ला प्रशासन कार्यालय लमजुङका सिडिओ लक्ष्मणबहादुर खड्काले भने।
त्यसपछि खड्काले ६१ जनाको रिपोर्ट हेरे। त्यसमा कसैको कोरोना संक्रमण पोजेटिभ भएको रेकर्ड थिएन। सिडिओ कार्कीले स्वास्थ्य मन्त्रालयले, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सम्पर्क गरे। त्यसपछि पत्ता लाग्यो संक्रमित विरामी लमजुङमा रहेनछन्।
'उहाँ हाम्रो जिल्लामा नभएको देखियो। पछिल्लो समय उहाँको कुनै ट्राभल हिस्ट्री पनि छैन,' सिडिओ कार्कीले भने।
लमजुङमा कोरोना संक्रमित भनिएका मानिस काठमाडौंमा फेला परे। संक्रमित ३ वर्षीय बालिका भएको खुल्यो। काठमाडौं महानगरपालिका १६ बनस्थली बस्ने रहेछन्। 'बनस्थलीमा बस्ने गरेको बुझियो। लमजुङको स्थायी ठेगाना कहाँको समेत अहिलेसम्म खुलेको छैन,' सिडियो कार्कीले भने।
पछिल्लो समय मन्त्रालयले सार्वजनिक गर्ने विवरण लमजुङमात्र होइन, धेरै जिल्लामा खतराको घन्टी जनाउने विषय बनिरहेको छ। जिल्लामा संक्रमित नभए पनि संक्रमितको सूचीमा पर्ने गरेको छ। काठमाडौंमा संक्रमित कम देखाउने रणनीतिका रुपमा पनि मन्त्रालयले स्थायी ठेगानालाई सार्वजनिक गरिरहेको हुनसक्छ।
संक्रमितबारे गलत रुपमा यसरी सूचना प्रवाह हुन स्थानीय तहका जनप्रतिनिधि नै समस्यामा परेका छन्। 'लमजुङका सिडिओले बनस्थलीमा रहेको भन्नु भएछ। हामीलाई पनि जानकारी छैन कहाँका हो,' काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले भने, 'यहीँको भन्ने पहिचान भए सिल गरेर ट्रेसिङ गर्न सकिन्थ्यो। हामी प्रहरीसँग कोअर्डिनेट गरेर खोजिरहेका छौं।'
यसै विषयलाई लिएर हिजोमात्रै राष्ट्रिय सूचना आयोगले स्वास्थ्य मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। निर्देशनमा कोरोना संक्रमितको ठेगाना दिँदा भ्रम पैदा भएकाले स्थायी ठेगाना र हालको ठेगानालाई प्रस्ट रुपमा दिन भनिएको छ।