PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ढुङ्गा र काठमा अक्षर भर्दै किसन, लकडाउनले सुनसान बनाएको होटल श्रृङ्गार्दै छन् यसरी



पहिलोपोस्ट

ढुङ्गा र काठमा अक्षर भर्दै किसन, लकडाउनले सुनसान बनाएको होटल श्रृङ्गार्दै छन् यसरी

  • बिष्णुकान्त घिमिरे -

किसन प्रधान होटल व्यवसायी हुन्। बन्दिपुर पर्यटन बिकास समितिको अध्यक्ष पनि। ४९ वर्षीय उनी पर्यटकीय हब बन्दिपुरमा हेरिटेज गेष्ट हाउस चलाउँछन्। प्राय सधैं चहल पहल रहने बन्दिपुर अनि होटल अहिले चकमन्न छ। कारण उहीं, लकडाउन। पर्यटन प्रवर्द्धन र आफ्नै होटलमा भ्याइनभ्याई हुन्थ्यो उनलाई। तर अहिले फूर्सदिला भएका छन्। घरभित्रै बस्नुको विकल्प छैन।

घरमा रहँदा उनी काठ एवं ढुङ्गाहरुमा अक्षर र आकार कुँदिरहेका छन्।

'१२ वर्ष यता बन्दिपुर यति सुनसान कहिल्यै थिएन। मानिस आउनु जानुले हामीलाई पनि व्यस्त बनायो। अहिले फूर्सद मिलेको छ। व्यवसायीक पाटोमा आएको ह्रास छँदै छ तर आफै भित्र भएको खुबी निखार्ने  गज्जव मौका बनेको छ', उनी सुनाउँछन्। ढुङ्गा, काठहरु कुँद्ने रुची रहेछ उनको। अन्य समय व्यस्तताकै कारण रुचीलाई समय दिन, आफूभित्रको कला निखार्ने समय पाएका रहेनछन्। लकडाउनमा भने पूर्ण समय रुची र रहरलाई। जुन कलाले लकडाउन पछि पुन: खुल्ने होटललाई नयाँ स्वरुप दिनेछ।

उनले होटलका लागि काठको मेनु बनाएका छन्। काठ अनि ढुङ्गामै अन्य विभिन्न कला भर्दैछन्। ती सामान भित्ता अनि टेबलहरुमा सजाएका छन्। किसनले बनाएको काठकै भित्ते घडीले समय मात्र बताएको छैन समयको महत्त्वको सङ्केत समेत गरेको छ। उनले काठको फलेक खोपेर आफ्नै होटलको साइनबोर्ड समेत तयार पारेका छन्।

उसो त अन्य समय ग्राहकले खाना खाने टेबल उनको 'आर्ट स्टेसन' बनेको छ। बिहानै उठेपछि शारीरिक व्यायम र दिनभर सिर्जना अभ्यास उनको दैनिकी बनेको छ।

सुरुवाती दिनमा आफ्नै होटलका लागि मात्र सामग्री बनाएर बसेका बसेका थिए उनी। अहिले वरपरका होटल संचालकले समेत विभिन्न कामको अर्डर दिन थालेका छन्। सौर्य होटलको कोठाको नाम खोपेर भ्याएका उनी अहिले देप्चे होटलको साइनबोर्ड बनाउन व्यस्त छन्।

उनले आफ्नो होटलमै बन्दिपुर आउने पर्यटकलाई लक्षित गर्दै ढुङ्गाका कलाकृति बेच्ने पनि गरेका छन्। ढुङ्गाको भित्तेघडी, बुद्धको चित्र, हिन्दु धर्मका देवीदेवताका चित्र, नेपालको नक्सा पर्यटकको बढी रोजाइमा पर्न सक्ने उनको अनुभव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell