काठमाडौं : भैरहवाबाट घर फर्किएका युवकमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँग नजिक भएकाहरु आइसोलेसनमा बस्न थालेका छन्।
'संक्रमित युवकलाई क्वारेन्टाइनमा राखिएको छ भने उनलाई भेटेकाहरु आफैँ सतर्क भएका छन्,' गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले भने, 'संक्रमण भित्रभित्रै फैलिएको हुनसक्ने भएकाले छिटोभन्दा छिटो कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं।'
कोरोनाको संक्रमण बढ्नुअघि नै नगरपालिकाले १३ वटा भेन्टिलेटर, तथा २२ वटा आइसीयु बेड कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखेको छ। नगरपालिकाले ४ वटा भेन्टिलेटर र ८ वटा आइसीयुसहित २० रुमको खाङ्ग्री इन्टरनेसनल अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पतालका रुपमा संचालनमा ल्याएको छ।
'पूर्व तयारीमा हामी सबैभन्दा बलियो अवस्थामा छौं। तर, संक्रमित देखिएपछि तनाव चाहिँ हुने रहेछ,' मेयर चालिसेले भने।
नगरपालिकाकै सक्रियतामा अहिलेसम्म १२ सयको परीक्षण भइसकेको उनले जानकारी दिए। 'संक्रमित थपिनेमा दुइमत रहेन। त्यसैले हामीले धेरै परीक्षण गर उपचारका लागि तयार रहनुको विकल्प छैन,' चालिसेले भने।
उनका अनुसार जोरपाटीकै शंखरापुर अस्पताललाई पनि नगर अस्पतालले कोरोना उपचारका लागि प्रयोग गर्ने तयारी छ। शंखरापुरमा मात्र दुई भेन्टिलेटर र ४ आइसीयु कोरोना संक्रमितका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाल मेडिकल कलेजमा १० आयसीयु र ७ भेन्टिलेटर कोरोना संक्रमितका लागि राखिएको चालिसेले जानकारी दिए। 'नगरपालिकाले मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ यसमा,' उनले भने।
नेपाल मेडिकल कलेजमा एकजना सुत्केरीको आरडीटी परीक्षणमा पोजेटिभ देखिए पनि पीसीआरबाट परीक्षण गर्दा नेगेटिभ देखिएकाले केही राहत महसुस भएको उनले बताए। 'दुईवटा एम्बुलेन्सलाई अहिले कोरोनाका लागि तयारी अवस्थामा राखेका छौ,' मेयर चालिसले भने।
संक्रमित संख्या बढ्ने जोखिम देखिएपछि नगरपालिकाले २ सय जना स्वयम सेवक तयार गरेको छ। उनीहरुलाई प्रहरीसँगको सहकार्यमा तालिम दिएर संक्रमणविरुद्ध जनचेतनाका लागि परिचालन गरिएको उनले बताए। 'डिएसपीसहित राखेर उनीहरुलाई तयार पारेका छौं। टिओआर नै तोकेर संक्रमणविरुद्ध लाग्न लगाएका हौं,' उनले भने।