PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कालीमाटीको प्रहरी वृत्त नै सिल, २ सय प्रहरी क्वारेन्टाइनमा



सविन ढकाल

कालीमाटीको प्रहरी वृत्त नै सिल, २ सय प्रहरी क्वारेन्टाइनमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि प्रहरीले वृत्त नै सिल गरेको छ।

उनीहरु लकडाउनको समयमा सडकमा नै समुहमा ड्युटीमा खटिएका थिए। त्यसैले पनि उनीहरुसँग सम्पर्कमा आएका प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्ने भएकाले सिल गरिएको हो। प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

संक्रमित व्यारेकमा बस्थे। उनीसँगै ९१ जना अन्य प्रहरी पनि रहेको प्रहरीले जानकारी दिएको छ।

संक्रमित दुवै लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले दुई प्रहरीमा संक्रमण देखिएको पुष्टि गरे। उनीसँग सम्पर्कमा आएका दुई सय जना प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिने भएको छ। वृत्तमा महिला सेल, ट्राफिक कार्यालय समेत रहेको छ। ४ दिनअघि १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो जसमा २ जनामा पोजेटिभ रिपोर्ट आएको हो।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यरत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।

यो पनि

लकडाउनको समयमा काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell