PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दुई दिनसम्म पनि ५९ जना कोरोना संक्रमितलाई छैन आइसोलेसन वार्ड! सरकारको दाबी : पूरापूर तयारी



प्रकाश भण्डारी

दुई दिनसम्म पनि ५९ जना कोरोना संक्रमितलाई छैन आइसोलेसन वार्ड! सरकारको दाबी : पूरापूर तयारी

काठमाडौं : बाँके नरैनापुर गाँउपालिकाका ५९ जना कोरोना संक्रमितलाई नेपालगंजको लायन्स डेण्टल हस्पिटलमा राखिएको छ, यतिखेर।

नरैनापुरका ४७ जनालाई सोमवार र अरुलाई मंगलवार कोरोना संक्रमण भएको पुष्टि भए पनि दुई दिनपछिमात्रै नेपालगञ्ज ल्याइएको हो। मंगलवार राति ९ बजे उनीहरुलाई नेपागञ्ज लगिएको गाँउपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले बताए।

गाँउपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा ३ वटा एम्बुलेन्समा ५९ संक्रमितलाई नेपालगञ्ज लगिएको हो। डेण्टल हस्पिटलमा ल्याइएको भए पनि सबैजनालाई नै त्यहीँ कि अन्यत्रै लैजाने भन्ने यकिन नभएको जिल्ल स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले बताए।

उनले डेण्टल हस्पिटलमा पर्याप्त आइसोलेसन बेड नभएकाले सबैलाई त्यहाँ राख्न नसकिने बताए। अरुलाई कुन अस्पतालमा राख्ने भन्ने टुंगो लागेको छैन।

'सबैजनालाई डेण्टल हस्पिटलमा ल्याएका छौं। अब आज निर्णय हुन्छ कहाँ राख्ने भन्ने,' उनले भने।

यसअघि नरैनापुरका स्थानीयले नेपालगञ्ज लैजान अवरोध गरेका थिए। उनीहरुले सुरक्षाको कारण देखाएर विरोध गरेका हुन्। वैशाख तीन गते आदर्श मावि, जैसतान मावि, दीपेन्द्र प्रावि, नेरा प्राविको क्वारेण्टाइनमा रहेका २ सय ६३ जनाको स्वाब संकलन गरिएको थियो। उनीहरुमध्ये ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

उनीहरुलाई सोमवार नै कोरोना संक्रण पुष्टि भए पनि आइसोलेसन बेडको अभावमा कहाँराख्ने भन्ने टुंगो नलागेको हो। उनीहरु भारतको मुम्बईबाट नेपाल आएका थिए। यसअघि उनीहरुसँगै भारतबाट आएका एक युवाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो। क्वारेण्टाइनमै बसेका बेला उनको मृत्यु भएको हो।

बाँकेमा यस्तो अवस्था रहे पनि केन्द्रमा भने सरकारले सबै तयारी भइरहेको दावी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell