PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

जुम्लाका १८ आयोजनाले पाए निर्माण कार्य अघि बढाउने अनुमति



रासस

जुम्लाका १८ आयोजनाले पाए निर्माण कार्य अघि बढाउने अनुमति
प्रतीकात्मक तस्विर।

खलङ्गा : लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन्। लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले १८ बढी आयोजनालाई अनुमति दिएपछि ती आयोजना सञ्चालनमा आउने भएका हुन्।

लकडाउनका कारण रोकिएका यहाँका ठूला १८ विकासे आयोजनाको निर्माणको काम सञ्चालनमा गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

उनले भनिन्, ‘लकडाउनका समयमा विकास निर्माणका कामलाई सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो।’

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको हो। व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई अनुरोध गरेअनुसार अनुमति दिइएको र लकडाउनको मापदण्डअनुसार काम गराउँछौँ भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्।

जिल्लाका सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति मागे पनि अति आवश्यक र आर्थिक वर्षभित्रमा सम्पन्न हुने योजनाबाहेक अरु योजनाको निर्माणका लागि अनुमति दिन नसकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गृह मन्त्रालयबाट अनुमति प्राप्त भएपछि नाग्म–रारा सडकको निर्माण कार्य सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि यहाँका विकास निर्माणका काम ठप्प छन्।

खानेपानी आयोजना प्रभावित

कोभिड-१९ संक्रमणबाट जोगिन जारी लकडाउनले जुम्लाका स्थानीय तहका पाँच करोड रुपैयाँका खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। आर्थिक वर्ष २०७६/७७ खानेपानी तथा सरसफाइतर्फका कार्यक्रममा कर्णाली प्रदेश सरकारबाट यहाँका आठै स्थानीय तहका लागि पाँच करोड रुपैयाँ लागतका ४६ खानेपानी योजना स्वीकृत गरी पठाएको थियो।

सोहीअनुसार आठै तहमा उपभोक्ता समिति गठन गरी निर्माण कार्य पनि अघि बढिरहेको थियो। सरकारले चैत ११ गतेदेखि जारी लकडाउनले निर्माण सामग्री उपलब्ध नहुँदा सो खानेपानी योजनाको निर्माण कार्य प्रभावित भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका सबइञ्जिनियर गणेश परियारले बताए।

जिल्लाको तातोपानी गाउँपालिकामा ६८ लाख ९१ हजार रुपैयाँ लागतमा सात योजना, कनकासुन्दरीमा एक करोड ४९ लाख सात हजार रुपैयाँ लागतमा १४ योजना, पातारासीमा ६२ लाख रुपैयाँ लागतमा चार योजना, सिञ्जामा ७३ लाख पाँच हजार लागतमा पाँच योजना, त्यस्तै हिमामा पाँच लाख ९३ हजार लागतमा दुई योजना, तिलामा २८ लाख १५ हजारको लागतमा दुई योजना र चन्दननाथ नगरपालिकामा ४१ लाख रुपैयाँ लागतमा चार योजना चालु आवमा निर्माण सम्पन्न गर्नुपर्ने योजना अपलपत्र परेको सबइञ्जिनियर परियारले बताए।

ग्रामीण बस्तीमा खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले करोडौँका योजना दिए पनि कोरोना महामारीले उत्पन्न लकडाउनका कारण विकासे निर्माणमा चाहिने स्रोतसाधन नआउँदा योजना निर्माणमा सकस भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाएको छ।

रैथाने तरकारीको माग बढ्दै

कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनले यहाँको रैथाने तरकारीको माग बढेको छ। चन्दननाथ नगरपालिका–६ का लक्ष्मी कुमाइ अहिले डोकोमा तरकारी बोक्न नपर्दा दङ्ग छन्। लकडाउनअघि मण्डीमा पाँच रुपैयाँमा एक आटो साग बिक्री हुने गरेको थियो। अहिले घरबाटै १० देखि १५ रुपैयाँमा बिक्री हुने गरेको उनले बताए।

‘लकडाउनका कारण तराईबाट तरकारी नआएपछि स्थानीय तरकारीको खपत बढेको छ, किसानले भनेकै मूल्य पाएका छन्, पहिले मण्डीवालाले प्रतिकिलो ३५ देखि ४० रुपैयाँमा हामीबाट खरिद गरी ५५ देखि ६५ रुपैयाँमा आलु बेच्थेँ’, कुमाइले भनिन्, ‘अहिले बारीबाटै ५० रुपैयाँमा पाइरहेका छौँ।’

केही सीमित जग्गामा बेमौसमी तरकारी खेती गरिरहेको उनले रैथाने जातको सागसात, आलु र टमाटर धमाधम सदरमुकाममा पठाइरहेको र एक महिनाको अवधिमा लकडाउनमा सात हजार रुपैयाँको तरकारी बिक्री गरेको किसान कुमाइले बताए। सुर्खेत, दैलेख, नेपालगञ्जबाट तरकारी जिल्लामा नआउँदा गत वर्षभन्दा यो वर्षमा स्थानीय तरकारीले राम्रो मूल्य पाएको किसान राधाकृष्ण बुढ्थापाको भनाइ छ।

तलिमका सरीता कठायतले डोकोमा दुई घण्टा बोकेर तरकारी बेच्नुपर्ने बाध्यता हटेको बताए। शुरुमा केही दिन तरकारी बिक्री भएनन्। लकडाउन लामो समयसम्म हुँदा तरकारी व्यवसायीले गाउँगाउँमा तरकारी संकलन गर्न थालेपछि यसको मूल्य राम्रै पाइरहेको उनको भनाइ छ।

जिल्लाका आठ स्थानीय तहका सबै वडामा तरकारी उत्पादन हुन्छ। अहिले जुम्ला सदरमुकाम खलङ्गा बजारका उपभोक्तालाई नै रैथाने जातको (अर्गानिक) तरकारी मागअनुसार पूरा गर्न नसकेको यहाँका किसान बताउँछन्। सीमित व्यक्ति मात्र अर्गानिक तरकारीको व्यावसायिक खेती गर्ने भएकाले सेवाग्राहीले भनेजस्तै समयमा तरकारीको सेवा दिन नसकेको कृषि विकास कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell