काठमाडौँः बुधवार अपराह्नसम्मको तथ्यांकमा नेपालमा ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका जिल्ला ३८ पुगेका छन्। सातै प्रदेशमा संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ४५ जना उपचारपछि घर फर्किसकेका छन्। हाल ३६३ जना अस्पतालको आइसोलेसनमा छन्। बाँकी कोही क्वारेन्टाइनमै त कोहीलाई होटलमा आइसोलेसनमा राखिएको छ। त्यस्तै ९४ जना सम्भावित संक्रमितलाई पनि आइसोलेसनमा राखिएको छ। बुधवार पुष्टि भएका २५ जनाको व्यवस्थापनको तयारी भइरहेको छ।
पछिल्लो तथ्यांक अनुसार २१ हजार ६२३ जना क्वारेन्टाइनमा छन्। हालसम्म नेपालभर ३३ हजार ६ जनाको आरटी पीसीआर पद्धतिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ।
प्रदेश १
प्रदेशका सात वटा जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ ५९ जना संक्रमित पुगेका छन्। संक्रमितमध्ये सबैभन्दा बढी उदयपुर जिल्लाका रहेका छन्।
उदयपुरका ३३ जनामा संक्रमण पुष्टि भएकोमा हालसम्म २२ जना उपचारपछि घर फर्किएका छन्। बुधवारमात्र कोशी अस्पतालबाट उदयपुरका ८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
त्यस्तै झापा जिल्लामा १२ जना संक्रमित भएका छन्। यहाँका तीन जना उपचारपछि घर फर्किएका छन्। प्रदेश १ कै धनकुटामा ६ जना संक्रमित पुगेका छन्। आजै मात्र धनकुटाका पाँच जनामा संक्रमण पुष्टि भएको छ। मोरङमा चार जना संक्रमित हुँदा सुनसरीमा दुई जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै खोटाङमा पनि एक जना संक्रमित भएका छन्। भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएकोमा उनी उपचारपछि निको भइसकेका छन्।
प्रदेश एकमा एक हजार १७८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश २
प्रदेश २ का सबै जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आठ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या १३६ पुगेको छ। सबैभन्दा बढी पर्सामा संक्रमण देखिएको छ।
पर्सामा ९१ जना संक्रमित छन्। त्यस्तै रौतहट जिल्लामा २२ जनामा संक्रमण पुष्टि भएको छ। धनुषामा ९, सर्लाहीमा ५, बारामा चार, महोत्तरीमा ३ जनामा संक्रमण पुष्टि भएको छ। सप्तरी र सिराहामा एक-एक जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशमा हालसम्म चार जना डिस्चार्ज भएका छन्। पर्सामा ३ रौतहट र धनुषामा १/१ जना उपचारपछि घर फर्किएका छन्। हाल यहाँ संक्रमित र शंकास्पद संक्रमित गरी १३७ जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यहाँ तीन हजार ४८१ जना क्वारेन्टाइनमा रहेका छन्।
वाग्मती प्रदेश
वाग्मती प्रदेशका १० जिल्लामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी काठमाडौंमा १० जनामा संक्रमण पुष्टि भएको छ। यहाँका तीन जना डिस्चार्ज भइसकेका छन्।
सातै चितवन, धादिङ र भक्तपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ। चितवनका दुई जनामा उपचारपछि फर्किएका छन्।
मकवनपुरमा पनि दुई जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशका काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, ललितपुरमा १/१ जना संक्रमित भएका छन्। सिन्धुपाल्चोककी संक्रमित एक महिलाको मृत्यु भइसकेको छ। रामेछापका व्यक्ति भक्तपुरमा छन्।
यहाँ हाल १९ जना संक्रमण पुष्टि भएका र ५९ जना शंकास्पद व्यक्ति आइसोलेसनमा रहेका छन्। वाग्मतीमा ३३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा तीन जिल्लामा चार जनामा संक्रमण पुष्टि भएको छ। बाग्लुङमा २ जनामा संक्रमण पुष्टि भएकोमा दुबै डिस्चार्ज भएका छन्।
त्यस्तै नवलपरासी वर्दघाट सूस्ता पूर्व र लमजुङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ दुई जना आइसोलेसनमा छन्। यस प्रदेशमा ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेश ५
प्रदेश ५ मा सबैभन्दा बढी १९६ जना संक्रमित भएका छन्। यस प्रदेशका १२ जिल्लामध्ये सात वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ। आजै मात्र २० जना संक्रमित थप भएका छन्।
संक्रमितमध्ये सबैभन्दा बढी बाँके जिल्लाका छन्। यहाँ ९९ जनामा संक्रमण पुष्टि भएको छ। बाँकेको नरैनापुर गाउँपालिकाका एक जनाको मृत्यु भइसकेको छ। क्वारेन्टाइनमा रहेका युवाको उपचार अभावका कारण मृत्यु भएको हो।
त्यस्तै कपिलवस्तुमा संक्रमितको संख्या ५९ पुगेको छ। रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा दाङमा ४ जना तथा नवलपरासी बर्दघाट सूस्ता पश्चिममा ३ जना संक्रमित भएका छन्। बर्दियामा २ जना संक्रमित छन्।
त्यस्तै रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा रहेका गुल्मीका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनको अस्पतालको आइसियूमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको छ। उनी कोमामा रहेको अस्पतालले जनाएको छ।
यहाँका संक्रमितमध्ये दाङका २, कपिलवस्तुका १ र बर्दियाका १ जनामा संक्रमण काठमाडौंमा देखिएको हो।
सबैभन्दा बढी संक्रमित पुष्टि भएको प्रदेश ५ हो। यहाँ सबैभन्दा बढी १३ हजार ६३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। संक्रमित तथा शंकास्पद गरी यहाँ १८८ जनालाई आइसोलेसनमा राखिएको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या एक छ। प्रदेशको दैलेखका एक जनालाई संक्रमण पुष्टि भएको हो। सोमवार यहाँको क्वारेन्टाइनमा रहेका एक जनामा संक्रमण पुष्टि भएको हो। उनी गड्डाचौकीमा रहेको क्वारेन्टाइनमा ४० दिन बसेर दैलेख पुगेका थिए।
एकमात्र संक्रमित पुष्टि भएको कर्णालीमा ६९९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै उपचारपछि घर फर्किसकेका छन्।
कैलालीमा ४ जनाको संक्रमण पुष्टि भएको थियो। दुबईबाट फर्किएका एक युवामा संक्रमण पुष्टि भएको थियो। साथै उनकी भाउजुमा पनि संक्रमण देखिएको थियो। त्यस्तै वीरगंजबाट कैलाली फर्किएकी एक महिलामा पनि संक्रमण पुष्टि भएको थियो। भने एक जना भारतबाट आएका नेपालीमा पनि संक्रमण देखिएको थियो।
त्यस्तै कञ्चनपुरमा भारतबाट आएका एक जनामा पनि संक्रमण पुष्टि भएको थियो। उनी पनि उपचारपछि घर फर्किसकेका छन्।
सुदूरपश्चिम प्रदेशमा शंकास्पद ११ जनालाई आइसोलेसनमा राखिएको छ। यहाँ एक हजार ९३६ जना क्वारेन्टाइनमा छन्।