PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

पीसीआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

पीसीआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पीसीआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ। केही सञ्चार माध्यममा पीसीआर विधिबाट परीक्षण गराउँदा १५ हजार रुपैयाँ तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको जानकारी गराएको हो।

मन्त्रालयका आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले बुधवार विज्ञप्ति जारी गर्दै कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पीसीआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको जानकारी दिए।

‘पीसीआर विधिबाट परीक्षणको लागि मन्त्रालयले दर तोकिदिने भएता पनि हालसम्म तोकि नसकेको व्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको मात्रै हो, के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रबन्ध कसरी अपनाउनेलगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ।’

मंगलवार मन्त्रालयले स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सःशुल्क गराउने निर्णय गरेको थियो। उनले मंगलवार गरिएको उक्त निर्णयलाई केही अनलाइन मिडियाले निजी संस्थाबाट पनि परीक्षण गराउन १५ हजार रुपैयाँ तोकिएको भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेका धेरै प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएका छन्।

उनले सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको जानकारी दिए।

‘निःशुल्क परीक्षण गराउने कि सःशुल्क परीक्षण गराउने सो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो’, उनले भने, ‘सःशुल्क परीक्षण गर्ने संस्थाले परीक्षणको लागि तोकिएको सम्पूर्ण मापदण्ड पुर्‍याएको हुनुपर्दछ। त्यहाँबाट भएका परीक्षणको गोपनीयता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्दछ।”

यसैगरी अहिलेसम्म ३५ हजार ४९४ को पीसीआर र ७५ हजार ७२ जनाको आरडीटीबाट परीक्षण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell