PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जो ४८ वर्षअघि सीमा रक्षा गर्न तिंकर पुगे: प्रहरी चौकी बनाए, कहिले गोठ कहिले चौरमा बास बस्दै पुगे कालापानी



प्रकाश भण्डारी

जो ४८ वर्षअघि सीमा रक्षा गर्न तिंकर पुगे: प्रहरी चौकी बनाए, कहिले गोठ कहिले चौरमा बास बस्दै पुगे कालापानी

काठमाडौँ: बैतडीका वीरबहादुर चन्द कालापानी लिपुलेकका समाचार टिभीमा चाख मानेर हेर्छन्। रेडियोमा ध्यान दिएर सुन्छन्। समाचारले झन्डै पाँच दशकअघिको याद ताजा बनाउँछ। समाचारका अनेक चर्चा परिचर्चालाई उनी आफूले देखेको र भोगेको वास्तविकतासँग तुलना गर्छन्, कति साँचो लाग्छ त कति मिथ्या। शारीरिक अवस्था अहिले कमजोर भए पनि कालापानीको याद अमिट छ।

लामा जुँगा, खाइलाग्दो ज्यान। अनुहार चाउरिएको छ। फौजी पोशाक छैन तर याद र साथीको सम्झना उस्तै छ। ४८ वर्षअघिको कालापानी कति बदलियो वा बदलिएन थाहा छैन तर, भारतले मिचेको नेपालको कालापानी क्षेत्रको सम्झना भने वीरबहादुर कुनै फिल्मको नबिर्सने दृश्यझैँ सम्झिरहन्छन्।

+++++++

२०२९ सालको बर्खायाममा दार्चुलाको तिंकर जाने योजना बन्यो। कहिल्यै नगएको ठाउँ भएकाले मनमा हुटहुटी थियो। कस्तो होला ठाउँ? कस्ता होलान् मानिस?

असई वीरबहादुरका लागि तिंकर जाने योजना बाध्यता भने थिएन।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा त्यति बेला सई थिए विमल शर्मा। शर्माले नै चन्दलाई कालापानी क्षेत्रका बारेमा ब्रिफिङ गरे। त्यसपछि छलफल भयो, को जाने तिंकर? अरूले इच्छा नदेखाएपछि वीरबहादुरले जाने निधो गरे। उनको पहिलो जिम्मेवारी थियो, एक्लै गएर त्यहाँको वस्तुस्थिति बुझ्ने।

नेपालकै बाटो हुँदै जान सकिने भए पनि उनी गएनन् -कारण बाटोमा भएका बस्ती लेकतिर सरिसक्नु। बाटो सोधेर जान कठिन हुने भएपछि भारतको पास बनाए धार्चुलामा। र, भारत हुँदै हान्निए तिंकर। सिभिल ड्रेसमा गएर उनले गतिविधि नियाले। तिंकर पुगेका उनको पासको अवधि सकिएपछि फेरि धार्चुला प्रशासनमा अनुरोध गरे - दार्चुला सदरमुकाम जाने पास पाउँ। तर पास बनेन। किनकि उनी भारतीय प्रहरीको निगरानीमा परिसकेका थिए। पास दिइएन। सोधेरै नेपालकै बाटो हुँदै उनी सदरमुकाम खलंगा झरे।

कार्यालय आएर सोधे मसँग को जान चाहन्छ? हवल्दारसहित केही प्रहरीले जाने इच्छा देखाए। पाँच जनाको टोली नेपालको बाटो हुँदै तिंकर पुग्यो। त्यहाँ पुगेपछि उनीहरूको पहिलो काम भयो प्रहरी चौकी बनाउने। सरकारले प्रहरी चौकी बनाउनका लागि दुई हजार पाँच सय रुपैयाँ बजेट छुट्ट्याएको थियो।

अनि तिंकरमा बन्यो चौकी

तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको उत्तर-दक्षिण सीमा मिचिएको ठाउँमा प्रहरी चौकी राख्ने नीति लिएका थिए।

चौकी बनाउँदै जाँदा पैसा पुगेन। वीरबहादुरले आफ्नै खल्तीको पैसा खर्च गरे।

'सरकारले त्यो बेला चौकी बनाउन दुई हजार पाँच सय रुपैयाँ बजेट छुट्ट्याएको थियो। नपुगेपछि मैले चार हजार ८४८ रुपैयाँ हालेँ। मेरो तलब ३०४ रुपैयाँ थियो। चौकी काठै काठको बनायौँ। मज्जाको बनायौँ।' उनले विगत सुनाए।

सुरुमा पाँच जनाको टोली गए पनि पछि दरबन्दी थपियो। १५ जना प्रहरी तिंकर चौकीमा थिए। पाँच सात जनाको टोली सीमासम्म गस्तीमा गइरहन्थे। त्यो बेला बस्ती थिएन कालापानीमा। त्यहाँ बस्ने धेरैजसो व्यापारी। व्यापार भारतसम्म हुन्थ्यो। तिब्बतमा पनि भेडा च्याङ्ग्रामा सामान पुर्‍याउँथे। ६ महिना बर्खामा उनीहरू तिंकर, व्यास, कुटी गुन्जी लगायतका क्षेत्रमा बस्थे र हिउँदमा फेरि बेसी झर्थे, दार्चुला सदरमुकामतिर। धेरै चिसो हुने भएकाले हिउँदमा कालापानी क्षेत्रमा बस्न सकिने अवस्था थिएन।

तर, प्राकृतिक हिसाबले रमणीय र खेतीपातीका लागि पनि राम्रो ठाउँ भएको चन्दले बताए।

'खेतीपातीका लागि पनि राम्रो ठाउँ छ। उवा, फापर लगायतको खेती हुन्थ्यो। धेरैजसो गोठ हुन्थे। उनीहरू त्यहाँ बस्ने भनेको तातो मौसममा ६ महिना मात्रै हो', उनले भने।

त्यो बेलामा तिंकरमा एउटा प्राथमिक विद्यालय थियो। अर्को छाङरुमा पनि थियो। त्यो बाहेक हुनेखानेले भारतको नैनीताल र काठमाडौँमा छोराछोरी पढ्न पठाउँथे।

'हुनेखानेले कि नैनीताल कि त काठमाडौँ पठाउँथे छोराछोरी। स्कुल पनि छ महिना लेकमा र छ महिना बेसीमा चल्थ्यो' उनी त्यो बेलाको तिंकरको सम्झना गर्छन्।

+++++

तिंकरको नीतिकुण्टामा थियो प्रहरी चौकी। त्यहाँबाट भारतको सीमा जोडिएको ठाउँ कौवा नजिकै छ। १५/२० मिनेटमा हिँडेर जाँदा भारतको सीमा पुगिन्थ्यो। वीरबहादुरको टोलीको मुख्य जिम्मेवारी थियो, सीमामा हुने गतिविधिको नियाल्ने। त्यसको जानकारी अञ्चल प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा दिने।

तीन वर्षको अवधिमा कालापानीका सबैजसो ठाउँमा पुगेर उनको टोलीले गतिविधि नियाल्यो। चन्द कालापानी क्षेत्रमा हतियारसहित पुगेको नेपालको पहिलो प्रहरी आफू भएको दाबी गर्छन्।

'कालापानीको सबैजसो ठाउँमा गएको छु। धेरै जसोले तपाईँ साहसी हुनुहुँदो रहेछ भन्थे। तर भारतीय प्रहरी तथा नागरिकसँग समस्या भएन', उनले सुनाए।

भारतीय सीमामा खटिएका प्रहरी चौकीसम्म उनी पुगेका छन्। तिकंरबाट कौवासम्म पुग्न धेरै समय लाग्दैनथ्यो। पारि भारत थियो र कौवाकै आसपासमा भारतीय प्रहरी चौकी थियो। उनीसहितको टोली एक दिन हतियारसहित सीमासम्म पुगेको थियो। भारतीय प्रहरीले हतियार नेपालपट्टि राखेर चिया खान आग्रह गरे। भारतीय प्रहरीसँग सीमाबारे कुरा गरेको र आफूहरू माथिकै आदेशमा चलेको उत्तर फर्काए।

भारतीय प्रहरीसँग वीरबहादुरको राम्रो सम्बन्ध थियो। सीमा क्षेत्रका स्थानीयसँग पनि उनको राम्रै सम्बन्ध थियो। उनीहरूले पनि प्रशंसा गर्थे।

'म गुन्जी कुटी सबै गाउँगाउँ हिँडेको छु। त्यहाँका मान्छेसँग राम्रो सम्बन्ध थियो। किनभने उनीहरू यता दार्चुला सदरमुकामसम्म जग्गा किन्न आउँथे। भारतसम्म पनि नेपालीको खेत थियो। भारतीयको पनि यतातिर खेतबारी थियो। भारतीयहरूको नेपालमा जमिन दर्ता थियो। उताबाट खेतीपाती गर्न आउँथे', उनी सम्झन्छन्।

सरकारी अधिकारी कालापानी पुगेनन्

तिकंरमा असई भएर भूमिका निभाउँदा वीरबहादुरले माथिको आदेशका कारण अप्ठेरोमा पर्नु परेन। सीमा क्षेत्रको गतिविधि उनी दुरुस्तै आफ्नो माथिल्लो निकायमा खबर गरिदिन्थे। भारतबाट नेपालतिर को आए, को गए उनी सबै खबर पठाउँथे।

एक पटक काठमाडौँबाट परराष्ट्र मन्त्रालयको टोली भारतको बाटो हुँदै तिंकर पुगेको थियो। उनीहरूले वीरबहादुरलाई एक मिटर लामो कागजमा नक्सा देखाए। त्यहाँको बारेमा रिपोर्टिङ गरेपछि गृह मन्त्रालयका एक जना कर्मचारी कालापानी जान काठमाडौँबाट गए तर उनी भारतबाट कालापानी जानुपर्नेमा गएनन्। वीरबहादुरले प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गरे। कालापानी नपुगेर फर्केको जानकारी दिए सरकारलाई उनले। पछि ती अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो। उनको नाम वीरबहादुर सम्झन सक्दैनन्।

भारतबाट पनि बेला-बेलामा सीमासम्म भ्रमण गर्न आउँथे भारतका सरकारी अधिकारी। त्यसको सबै जानकारी वीरबहादुर सरकारलाई दिन्थे। मुख्य जिम्मेवारी पनि यही नै थियो। त्यहाँ बस्दा उनलाई सीमाकै विषयलाई लिएर समस्या भएन। २०२९ असोजमा तिंकर पुगेका उनी २०३१ सम्म बसे।

+‌++++++

कालापानीको सिमाना मिचिएका विषयमा उनी चनाखो थिए। बेला-बेलामा त्यस क्षेत्रका बुढापाकालाई सोध्थे। बुढापाका उनलाई कालापानी सबै नेपालकै भएको सुनाउँथे। तर धेरै मान्छेलाई यसबारेमा मतलब नै थिएन। प्रहरी संगठनभित्रै पनि उनलाई त्यहाँ गएकोमा धेरैले राम्रो मानेका थिएनन्।

'सीमामा त्यो बेला मैले गएर काम गर्दा धेरैले बेकारमा के गरिरहेको होला भनेर भन्थे। कतिलाई त त्यसबारे चासो नै थिएन। सीमाबारे धेरैजसोलाई थाहा पनि थिएन,'उनले भने।

 खम्पा काण्ड

भारतले अहिलेको जस्तो कालापानी क्षेत्रमा दुःख दिएको वीरबहादुरले भेटेनन्। तीन वर्षको अवधिमा नेपाल चीनबीच समस्या नभए पनि खम्पा काण्ड भएको थियो।

२०३१ सालमा फ्रि तिब्बतको माग राखेर आन्दोलन गरिरहेका दलाई लामा समूहका व्यक्ति कालापानी क्षेत्रमा बसेका थिए। पछि चीनको आग्रह बमोजिम नेपाली सेनाले त्यस क्षेत्रबाट उनीहरूलाई हटायो। वीरबहादुर यसमा खुलेर बोल्न चाहँदैनन्, आन्तरिक मामला मान्छन्।

त्यस बेला नेपाली सेनालाई पनि वीरबहादुरले नै त्यहाँको सबै घटनाबारे ब्रिफिङ गरे।

'खम्पा काण्ड भएको थियो। त्यो भारतसँग जोडिएको कुरा थिएन। नेपाली सेना गएको थियो उनीहरूलाई पनि मैले नै सबै कुरा जानकारी गराएँ', उनले सम्झिए।

++++

कालापानी क्षेत्रमा अहिलेको समस्या किन आयो? उनको प्रस्ट जवाफ छ -सीमामा सुरक्षा भएन।

कालापानीबाट मानसरोवर जाने तीन वटा बाटा थिए। घोडा, खच्चर तथा भेडा/च्याङ्ग्रा त्यो बाटोमा हिँड्थे। भारतले सीमामा सधैँ प्रत्यक्ष निगरानी गर्थ्यो। तर नेपालको भने वीरबहादुर अघि कोही पनि त्यहाँ पुगेका थिएनन्। फर्केर आइसकेपछि पनि त्यहाँ सुरक्षा व्यवस्था भएन। जसकारण भारतले जमिन सजिलै अतिक्रमण गरेको मान्छन्, वीरबहादुर।

'कालापानीबाट मानसरोवर जाने तीन वटा राम्रा बाटो थिए। १९६२ मा चीन र भारतबीच के भयो त्यसपछि मात्रै त्यहाँ समस्या हुन थालेको हो। त्यहाँ भेडा चर्थे। नेपालीलाई वास्ता भएन। सजिलो बाटो भएर पनि भारतले अहिलेको सडक बनायो', उनले भने।

सरकारले अहिले छाङरुमा बीओपी राखेको वीरबहादुरलाई चित्त बुझेको छैन। त्यो नेपाल भारतको सीमाबाट निकै टाढा भएकाले काम नहुने उनको धारणा छ। नेपाल भारत सीमा कौवामा नै सुरक्षा पोस्ट राख्नुपर्ने उनी बताउँछन्।

'अहिले म सुनिरहेको छु त्यहाँ प्रहरी हेलिकोप्टरमा गए भन्ने। तर त्यसको काम छैन। राख्ने नै भए कौवामा राख्नुपर्छ। प्रहरी, सशस्त्र प्रहरी गएर हुँदैन सीमामा त सेना नै राख्नुपर्छ', उनले भने। 

++++

वीरबहादुर अहिले खुसी नै छन्। किनभने ४८ वर्षअघि अहिलेको जस्तो अवस्था थिएन। सीमाबारे अहिले जसरी धेरैलाई थाहा थिएन। अहिले पूरै संसारले कालापानी नेपालकै हो भन्ने थाहा पाएको बताउँछन्।

पाँच दशकअघि सीमाका विषयमा राखेको चासोमा उनी अहिले सन्तुष्ट छन्। 'अहिले समाचारमा हेरिरहेको छु, कति धेरै मान्छेले सीमाबारे चासो राखेका छन्। पहिले कहिलेकाहीँ मलाई लाग्थ्यो चासो राख्ने म एक्लै हुँ।' उनले सुनाए।

++++

२९ वर्ष प्रहरी सेवामा काम गरेका वीरबहादुरका लागि कालापानी क्षेत्रमा बसेका याद ताजा छन्। तिंकरमा काम गरेकाले उनलाई तत्कालीन प्रहरी प्रमुख खड्गजित बरालले भारत भ्रमणमा सँगै लगेका थिए।

नेपाल-भारत सीमामा पनि बरालले भ्रमण गरे। उनको कामलाई बरालले प्रत्यक्ष हेरे। काठमाडौँ आएपछि बरालले उनलाई बढुवाको पत्र पठाइदिए। त्यसपछि उनलाई प्रहरी संगठनभित्र र बाहिर प्रशंसा गर्न थालियो। त्यसपछि उनको बसाइँ धेरै समय कालापानी भएन। धनगढी सरुवा भयो।

कालापानी सीमा विवादबारे आफ्नो अनुभव सरकारले नसोधेकोमा उनको गुनासो छ। अझै पनि उनलाई कालापानी जाने रहर छ। तर ८१ वर्षीय उनको मनलाई शरीरले साथ दिएको छैन।

'जान त मन छ नि। अहिले म ८१ वर्ष पुगिसकेँ। जान सक्दिनँ हिँड्न पनि सक्दिनँ। केही वर्षअघि दार्चुला सदरमुकामसम्म पुगेर त आएको हुँ। कालापानीका कुरा सम्झिएपछि त्यहीँ गएको जस्तो महसुस हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell