
जनकपुरधाम : कोरोना महामारीका बीच बजेट ल्याउनु पर्ने भएकोले प्रदेश नम्बर २ मा सामाजिक दुरी कायम गरी प्रदेश सभा बैठक बसाउने तयारी भइरहेको छ।
सभामुख सरोज कुमार यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहका अनुसार सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयारी पार्न सभामुखले निर्देशन दिएका छन्।
उनले भने, ‘सभामुख यादवले हलमा सामाजिक दुरी कायम गरी तीन कुर्सीको बीचको कुर्सी खाली राखेर प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिनुभएको छ।’
असार १ गते नीति तथा कार्यक्रम र त्यस लगतै बजेट ल्याउनुपर्ने भएकाले प्रदेश सभा बैठक बस्ने तयारी गरिएको बताइएको छ। बैठकस्थलमा सामाजिक दुरी कायम गरी प्रदेश सभा सदस्यहरुलाई बस्नका लागि प्लाष्टिकका कुर्सीहरु व्यवस्थापन गरिँदैछ।
प्रदेश सभा बैठक बस्नुअघि सभामुख, उपसभामुख सहित १ सय ७ जना प्रदेश सभा सदस्य र कर्मचारीहरुको स्वाब परीक्षण गरिने र परीक्षणपछि नीति तथा कार्यक्रमको तयारी सम्बन्धी बैठकहरु बस्ने प्रदेश सभा सचिवालयका एक कर्मचारीले बताए।
जेठ १५ गते स्वाब परीक्षण गरिने र नतिजा आइसकेपछि २० गतेपछि बैठक बस्ने गरी तयारी भइरहेको सभामुख यादवका प्रेस सल्लाहकार सिंहले बताए। उनले प्रदेश सभा भवनमा कोरोनाको थप जोखिम नहोस् भन्नका लागि सुरक्षा अपनाइएको जानकारी दिए। अन्य बैठक भन्दा फरक तरिकाले यो बैठक बस्न लागिएको हो।