PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली महिलाको गलत चित्रण भएको जनाउँदै अनुष्का शर्माविरुद्ध कानुनी पत्र



पहिलोपोस्ट

नेपाली महिलाको गलत चित्रण भएको जनाउँदै अनुष्का शर्माविरुद्ध कानुनी पत्र

भारतीय अभिनेत्री अनुष्का शर्मा निर्मित वेब सिरिज 'पाताल लोक'  विवादमा तानिएको छ। नेपाली महिलाप्रति तुच्छ शब्द प्रयोग गरिएको भन्दै दर्शक एवं आम ट्वीटर एवं फेसबुक प्रयोगकर्ताले विरोध जनाउँदै आएका थिए। अब त्यो विरोध सामाजिक सञ्जालमै सीमित भने रहेन। उनीविरुद्ध कानुनी कारवाही अघि बढेको छ।

लयर्स गिल्डका सदस्य एवं प्रणय राय एण्ड एसोसिएट्स च्याम्बरसँग जोडिएका वकिल वीरेन श्री गुरुङले कानुनी पत्र पठाएका हुन्। गुरुङले उक्त सिरिजको दोस्रो एपिसोडमा प्रयोग भएको संवादले पूरा नेपाली समूदायको अपमान भएको बताएका छन्। उनले नवभारत टाइम्ससँग भनेका छन्,'एक दृश्यमा महिला प्रहरीमार्फत् जुन शब्दको प्रयोग गराइएको छ त्यो स्वीकार्य छैन। निर्माताको हिसाबले अनुष्का शर्मा जिम्मेवार भएकाले उक्त पत्र काटेको हुँ।'

हालसम्म अभिनेत्री शर्माले कुनै प्रतिक्रिया नजनाएको बताएका छन्।

भारतीय गोरखा युवा परिसंघमार्फत् मे १८ मा अनुष्काविरुद्ध अनलाइन उजुरी दर्ता गरिएको हो। अनुष्का र सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरलाई सम्बोधन गर्दै लेखिएको छ : 'सम्बन्धित सिरिजको एक संवादमा सम्पूर्ण गोरखा महिलालाई गलत तरिकाले चित्रण गरिएको छ। उक्त शब्दलाई सिरिजमा म्यूट गरिनु आवश्यक छ। त्यस्तै सबटाइटल पनि ब्लर गरिनु पर्छ। सार्वजनिक प्रसारणका लागि सम्पादित भिडियोको प्रयोग गरिनु पर्छ।'

पत्रमा यस कानुनी लडाई एक व्यक्तिविरुद्ध नभइ गलत सन्देश प्रवाहविरुद्ध भएको जनाएको छ।

 

अमेजन प्राइम भिडियोमार्फत् प्रसारण भइरहेको उक्त सिरिजमा एक महिला प्रहरीले अर्की महिलासँग अनुसन्धानका क्रममा नेपाली महिलाको अपमान हुनेगरी गाली गरिएको छ। उक्त भिडियो सार्वजनिक भएपछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् विरोध जनाउँदै त्यसलाई हटाउन माग गरेका थिए।

विवादित दृश्यलाई लिएर भारतमा रहेको गोरखा समूदाय पनि आक्रोशित भएको जनाइएको छ। अनुष्काले विना सर्त माफी समेत माग्नु पर्ने गुरुङको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell