PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भारतको मुम्बईबाट ४ दिन अघि आएका थिए झापाका १५ नयाँ संक्रमित, रेल सेवा संचालन हुँदा सीमामा खतरा बढ्यो



फूलमाया पुरी

भारतको मुम्बईबाट ४ दिन अघि आएका थिए झापाका १५ नयाँ संक्रमित, रेल सेवा संचालन हुँदा सीमामा खतरा बढ्यो

काठमाडौं : झापा कचनकवल गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण देखिएको छ। आज थपिएका सबै संक्रमितहरु केहीदिन अघि भारतको मुम्बईबाट आएको खुलेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार उनीहरु ४ दिन अघि भारतबाट आएका थिए। नेपाल प्रवेश गरेका उनीहरुलाई दक्षिणा क्वारेन्टाइनमा राखिएको थियो। मंगलवार ६५ जनाको स्वाब संकलन गरिएकोमा हालसम्म आएको रिपोर्ट अनुसार १५ जनामा कोभिड १९ पोजिटिभ देखिएको हो।

संक्रमण पुष्टि भएका १५ जनालाई विराटनगरस्थित कोशी अस्पतालमा लग्ने तयारी भइरहेको रानामगरले बताए।

'प्रदेश स्तरीय कोभिड विशेष अस्पताल भएकाले त्यही लगिन लागिएको हो,' उनले भने।

गाउँपालिका अध्यक्ष अन्जरा आलमले मुम्बईबाट आएकाहरुकोमा संक्रमण देखिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको र क्वारेन्टाइन र होल्डिङ सेन्टरको व्यवस्था गरिएको बताए।

'हामीले गाउँपालिकाभर तीन वटा क्वारेन्टाइन र एउटा होल्डिङ सेन्टरको व्यवस्था गरेका छौं' उनले भने 'त्यसैले उनीरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखी स्वाव संकलन गरिएको थियो'।

भारतले रेलमार्ग संचालन सुरु गरेका कारण नेपाल भित्रिने क्रम बढेको उनले बताए। सीमामा बसेका भारतीय प्रहरीहरुले उनीहरुलाई नेपाल छिर्न दिएको उनको दाबी छ।

'जब भारतले रेल मार्ग खुल्ला गर्‍यो। त्यसबाट बोर्डरमा आइपुगेका नेपालीलाई त्यहाँ बसेका एसएसबीहरुले नेपाल छिराउँदो रहेछ' अध्यक्ष आलमले भने।

प्रदेश १ मा केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ। आजमात्रै झापासँगै सुनसरी र धनकुटामा थप एकएकजनामा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell