PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

मनिषाको समर्थनमा विप्लवदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म : आफ्नो देशको पक्षमा बोल्न अरुलाई सोध्नुपर्ने?



पहिलोपोस्ट

मनिषाको समर्थनमा विप्लवदेखि प्रधानमन्त्रीका सल्लाहकारसम्म : आफ्नो देशको पक्षमा बोल्न अरुलाई सोध्नुपर्ने?

काठमाडौं: अभिनेत्री मनिषा कोइरालाले नेपालले नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएपछि भारतीय मिडिया उनीविरुद्ध खनिएका छन्। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी भएपछि उनले नेपालको पक्षमा विचार व्यक्त गरेकी थिइन्। भारतमा कोइरालाको मिडिया र जनस्तरमा विरोध भइरहँदा नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले उनको अभिव्यक्तिको समर्थन गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले कोइरालाले बलिउडमा राष्ट्रियता र स्वाभिमान बेचेर काम नगरेको भन्दै उनको बचाउ गरेकी छन्। उनी नेपालकी छोरी भएको भन्दै झाँक्रीले भारतीय मिडियाप्रति आक्रोश पोखेकी छन्। मनिषामाथि आक्रमण बन्द गर्न भारतीय मिडियालाई आग्रहसमेत गरेकी छिन्।

सामाजिक सञ्जालमा विभिन्न दलका नेताले नेपालका पक्षमा बोल्न भारतको अनुमति नचाहिने भन्दै भारतीय सञ्चारमाध्यमको आलोचना गरेका छन्। नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले नेपालीले नेपालको भूमि हाम्रो हो भन्न कस्तो अनुमति चाहिने? भन्दै भारतीय सञ्चार माध्यमलाई प्रश्न गरेका छन्।

अभिनेत्री कोइरालाको समर्थनमा नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल पनि बोलेका छन्। उनले भारतीय मिडियाहरुको मानसिकतामाथि प्रश्न उठाएका छन्। नेपालीकी छोरीले नेपालको बारेमा बोल्दा भारतलाई किन आपत्ति भन्दै उनले विरोध गरेका छन्।

नेकपाकै अर्का नेता तथा प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले अभिनेत्री कोइरालालाई बधाई दिएका छन्। पोखरेलले कोइरालाको नेपाली मन भएको भन्दै प्रशंसा गरेका छन्।

नेकपाकै अर्का नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय मिडियाले कोइरालाका विरोध गरेकोमा खेद प्रकट गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै कोइरालाको बोली सचेत र शिष्ट भएको भन्दै प्रशंसा गरेका छन्। उनले भारतीय मिडिया विश्वभरी बद्नाम भएको टिप्पणीसमेत गरेका छन्।

राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पनि अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गरेका छन्। भारतीय मिडियालाई पित पत्रकारिताको संज्ञा दिएका छन्।

नक्सा विवादमा नेपाली कांग्रेसका नेता गगन थापाले पनि भारतीय सञ्चार माध्यमको हर्कतको विरोध गरेका छन्। आफ्ना पार्टीका नेता मिनेन्द्र रिजालले भारतीय न्यज च्यानल रिपब्लिक टिभिमा दिएको अन्तर्वार्तालाई नेपाली कांग्रेसको धारणा भन्दै ट्वीट गरेका छन्। उनले भारतीय सञ्चार माध्यमको मात्र नभइ प्रधानमन्त्री केपी ओलीको बोल्ने शैलीको पनि बिरोध गरेका छन्। उक्त अन्तवार्तामा प्रस्तोताले प्रधानमन्त्रीले दिएको चीनको भाइरस नरम र भारतबाट आएको भाइरस कडा भएको भन्दै दिएको अभिव्यक्तिप्रति प्रश्न गरेका थिए। नेता रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति भन्दा पनि सीमाको विषयमात्र सरोकार भएको भन्दै प्रस्तोतालाई सजग गराएका थिए।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समूहले पनि भारतीय सञ्चार माध्यमको विरोध गरेको छ। मनिषा कोइरालाको समर्थन गर्दै उक्त समूहले भारतीय च्यानलमाथि नेपालमा प्रतिबन्ध लाउने चेतावनी दिएको छ। विज्ञप्ति जारी गर्दै उक्त समूहले नेपाली नागरिकको विरोध गर्ने च्यानल नेपालमा प्रसारण रोक्ने चेतावनी दिएको हो।

सामाजिक सञ्जालमा अभिनेत्री कोइराला र जनता समाजवादी पार्टीकी नेत्री सरिता गरिको तुलनासमेत भइरहेको छ।छोरी र बुहारी भन्दै उनीहरुको अभिव्यक्तिलाई लिएर समर्थन र विरोध भइरहेको हो।

कसरी सुरु भयो विवाद?

गत नोभेम्बर २ मा भारतले नयाँ राजनीतिक नक्सा जारी गर्‍यो। जसमा नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटिएको थियो। त्यसपछि नेपालले कुटनीतिक नोट पठाउँदै भारतको कदमको विरोध गरेको थियो। त्यसयता भारत बिरोधी विचारहरु सामाजिक सञ्जालमा ब्यक्त भइरहेका थिए।

नाकाबन्दीका बेला प्रकट भएको भारत विरोधी विचारहरु भारतको नयाँ नक्सा जारी पछि फेरि ब्यक्त भएका थिए। त्यसयता नेपालको आन्तरिक राजनीति र कोरोना भाइरसको संक्रमणले चर्चा पाए पनि भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमा भारतको विरोध भइरहको छ।

भारतले नक्सा जारी गरेपछि नेपालले पनि नयाँ नक्सा जारी गर्नुपर्ने दबाब बढेपछि सरकारले नक्सा जारी गर्ने तयारी गरेको थियो। तर लामो समयसम्म पनि नक्सा जारी हुन सकेको थिएन। सरकारमाथि तत्कालै नक्सा जारी गर्नुपर्ने दबाब बढ्न थालेपछि बुधबार नयाँ नक्सा जारी भयो। यससघि सोमबार बसेको मन्त्रिपरिषको बैठकले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो। निर्णयपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै मनिषा कोइरालाले नेपालको पक्ष लिएकी थिइन। ट्वीटरमा उनले गरेको समर्थनलाई लिएर भारतीय मिडिया र जनता उनीविरुद्ध खनिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell