PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय च्यानलमा मीनेन्द्र रिजालको पाठ : मैले के गर्नुपर्छ के गर्नु हुन्न तिमीले भन्ने होइन



पहिलोपोस्ट

भारतीय च्यानलमा मीनेन्द्र रिजालको पाठ : मैले के गर्नुपर्छ के गर्नु हुन्न तिमीले भन्ने होइन

काठमाडौं : नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपाल-भारत सम्बन्धमा चिनियाँ प्रभाव परेको र चीनको पक्षमा लागेर नेपाल भारतको विरोधमा उत्रिएको भन्दै विश्लेषण गर्न थालेका छन्।

यतिबेला सामाजिक सञ्जालमा भारतीय च्यानल रिपब्लिकाको 'दी डिबेट' कार्यक्रम चर्चामा छ। कार्यक्रमसँगै नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालको प्रस्तुतीलाई लिएर चर्चासमेत चलिरहेको छ।

रिजालले स्पष्ट रुपमा भारतीय प्रतिनिधिमाझ भएको छलफलमा नेपाली जनता सीमा विवाद र कालापानीको विषयमा नेपाल सरकारको पक्षमा रहेको बताए।

उनले प्रतिपक्षी दल नेपाली कांग्रेसको सरकारसँग असन्तुष्ट रहे पनि सीमा विवादका विषयमा सरकारसँगै रहेको बताए।

कार्यक्रम प्रस्तोता अर्णव गोस्वामीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कोभिड-१९ को विषयमा टिप्पणीलाई लिएर रिजालसँग प्रश्न सोधेका थिए। यसलाई उनले काट्दै सीमा विवादका विषयमा नेपाली कांग्रेस सरकारको पक्षमा रहेको र प्रधानमन्त्रीको विरोधमा भारतीय मिडियामा टिप्पणी नगर्ने बताए।

'हाम्रा सरकारसँग केही विमति होलान्। तर, म प्रधानमन्त्रीको विरोध यहाँ गर्दिन। कालापानीको विषयमा हामी सरकारको साथमा छौं,' उनले भने।

गोस्वामीले अनेक उदाहरण दिँदै चीन नेपालको साथी हुन नसक्ने दलिल प्रस्तुत गरिरँदा नेता रिजालले नेपालको साथी को हुने नहुने भन्ने विषयमा अरुले भन्न नपर्ने भन्दै उल्टो प्रश्न गरे।

'हामीलाई थाहा छ हाम्रो साथी को हो? तपाईँले भन्नुपर्दैन,' उनले अगाडि भने, 'चीन नेपालको मित्र हो। भारत पनि नेपालको मित्र हो।'

कार्यक्रमको सुरुमै रिजालले गोस्वामीलाई पत्रकारिताको पाठ पढाए।

'तपाईँले प्रश्न सोधेको कि वक्तव्य जारी गरेको? नेपालमा टेलिभिजन इन्टरभ्यूको यो स्टाइल होइन्,' उनले भने।

उनले सीमा विवाद महत्त्वपूर्ण मुद्दा भएको बताए।

'भारत यसलाई द्विपक्षीय संवादबाट समाधान गर्न चाहन्छ। कुटनीतिक माध्यमबाट,' उनले भने, 'यस विषयमा मैले धेरै टिप्पणी गर्न चाहन्न हामीले स्पष्ट रुपमा। तर, पनि यो भन्छु हामीले भनेका छौं हामीले हाम्रा प्रमाणहरु राख्ने छौं। भारत सरकारले पनि आफ्ना तर्फबाट प्रमाणहरु राख्न सक्छ। दुवै पक्ष संवादमा बस्न सक्छन्। तिमी मसँग असहमत हुन सक्छौं। चीनले यस्तो गर्‍यो यस्तो गरेन। मैले के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुरा तिमीले भन्ने होइन।'

रिजालले यति भनेपछि ओलीको कोरोना भाइरसको विषयमा गरेको टिप्पणीतिर संवादमा मोड्न खोजे सञ्चालक गोस्वामीले।

'म कोरोना भाइरसको विषयको विज्ञ होइन। म यस विषयमा बोल्दिन। तर, सीमाको विषयमा प्रधानमन्त्रीको अडानलाई म समर्थन गर्छु,' उनले अगाडि भने, 'नेताहरुको आफ्नो आफ्नै तरिका हुन्छ कुरा राख्ने। संसारका अन्य देशका नेताहरुको पनि आफ्नै स्टाइल छ।'

रिजालको जवाफले बोल्ती बन्द भएपछि सञ्चालक गोस्वामीले रिजाललाई भारतीय जिडी बक्सीलाई जुधाए। यति हुँदाहुँदै रिजालले गोस्वामीलाई पाठ पढाउन भ्याए - 'हामी दुई देशका नागरिक हौं एक अर्कालाई सम्मान गर्नुपर्छ। यसको मतलव यो होइन कि तैले यसो गर तैले उसो गर भनेर पाठ सिकाउने होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell